९ असार २०८३, मंगलवार

प्रधानमन्त्रीको अभिव्यक्ति घोर आपत्तिजनक, नबुझी बोले चिन्ताजनक, बुझेर बोले खतरनाक : कांग्रेस सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्ति घोर आपत्तिजनक भएको बताएका छन्। सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति निन्दनीय रहेको भन्दै कांग्रेसले यसको सम्पूर्ण रूपमा विरोध गर्ने स्पष्ट पारे।

‘नेपालको सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयमा प्रधानमन्त्रीले राख्नुभएको विषय निन्दनीय छ, घोर आपत्तिजनक छ र नेपाली कांग्रेस पार्टीले यसको सम्पूर्ण रूपमा विरोध गर्दछ। हामीले यो कुरालाई स्पष्ट भनिसकेका छौं,’ सभापति थापाले भने।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिले भारतसँग नेपालको सीमासम्बन्धी अडानलाई कमजोर बनाएको र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न सकिने सम्भावनालाई क्षीण बनाएको बताए। ‘सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडानहरू छन्। त्यसका पछाडि केही कथनहरू छन्, प्रमाणहरू छन्। प्रधानमन्त्रीको अभिव्यक्तिले त्यसलाई कमजोर बनाएको छ। छिमेकीसँग कूटनीतिक माध्यमबाट हल गर्न सकिने सम्भावनालाई क्षीण बनाएको छ,’ उनले भने।

सभापति थापाले प्रधानमन्त्री शाहको अभिव्यक्ति नबुझी बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक भएको टिप्पणी गरे। ‘कति साथीहरूले प्रधानमन्त्रीले यो कुरा धेरै नबुझी बोल्नुभयो भन्नुभएको छ। धेरै नबुझी बोल्नुभएको हो भने यो विषय चिन्ताजनक छ। धेरै बुझेर बोल्नुभएको छ भने यो खतरनाक छ,’ उनले भने, ‘प्रधानमन्त्रीजीले नेपाल र भारतको सीमानाको बारेमा, नेपाल–भारतको खुला सीमानाबारे सामान्य राजनीतिक सुझबुझ पनि राख्नु हुँदोरहेनछ भन्ने कुराको प्रमाण हिजो आफैंले दिनुभएको छ।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button