९ असार २०८३, मंगलवार

सूचना प्रविधि र डिजिटल सुरक्षामा सहकार्य विस्तारबारे सञ्चारमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच छलफल

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सबीच सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटवार्ताका अवसरमा द्विपक्षीय सम्बन्ध, सूचना प्रविधि, दूरसञ्चार, डिजिटल सुरक्षा तथा लगानी विस्तारलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। दुवै पक्षले नेपाल–अमेरिका सहकार्यलाई सूचना प्रविधि, डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा लगानी विस्तारका क्षेत्रमा थप सुदृढ बनाउने विषयमा विचारविमर्श गरेका थिए।

अमेरिकी उपविदेशमन्त्री रोजर्सले नेपाल–अमेरिका सम्बन्ध मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताइन्। उनले अमेरिकी कम्पनीहरू नेपालमा लगानी विस्तार गर्न चाहिरहेको उल्लेख गर्दै त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता तथा आवश्यक सहजीकरणको अपेक्षा गरिन्। उनले इन्टरनेट स्वतन्त्रताको संरक्षणसँगै डिजिटल माध्यमबाट हुने चुनौती व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउँदै अनलाइन ठगी, अश्लील सामग्रीको प्रसार तथा संवेदनशील सामग्रीको नियन्त्रणमा सहकार्य गर्न सकिने बताइन्।

जवाफमा सञ्चारमन्त्री तिमिल्सिनाले नेपाल सूचना प्रविधिमार्फत आर्थिक तथा प्रशासनिक रूपान्तरणको दिशामा अघि बढिरहेको बताउँदै यस क्षेत्रमा हुने सबै प्रकारका द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई नेपालले स्वागत गर्ने स्पष्ट पारे। उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रमा लगानीका लागि हाल कायम रहेको नीतिगत तथा कानुनी व्यवस्थाबारे जानकारी गराए। सरकार सामाजिक सञ्जाल नियन्त्रणको पक्षमा नरहेको स्पष्ट पार्दै उनले जिम्मेवार र उत्तरदायी डिजिटल वातावरण निर्माणका लागि आवश्यक नियामकीय प्रबन्ध गर्नुपर्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button