९ असार २०८३, मंगलवार

‘भारत नभएको भए कर्णालीका दाजुभाइ भोकै मर्नुपर्थ्यो’ : प्रधानमन्त्रीको बचाउमा रास्वपा सांसद सुनारको अभिव्यक्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री वालेन्द्र शाहको बचाउ गर्दै भारत नभएको भए नेपालीहरू भोकभोकै मर्नुपर्ने अवस्था आउने बताएका छन्। राष्ट्रिय दलित पत्रकार संघको एक कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

प्रधानमन्त्री शाहले आइतबार संसद्मा नेपालले पनि भारतको भूमि मिचेको भनी दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर अहिले प्रतिपक्षी दल तथा सरोकारवाला निकायले आपत्ति जनाउनुका साथै उनको राजीनामासमेत माग गरिरहेका छन्। यसै सन्दर्भमा सांसद सुनार प्रधानमन्त्रीको बचाउमा उत्रिएका हुन्।

‘अहिले पनि नेपालका लाखौं–लाख गरिब, दलित, उपेक्षित वर्ग भारतमा भाँडा माझेर बसिरहेको छ। कुल्ली काम गरेर बसिरहेको छ। पीडा सहेर बसिरहेको छ। सेक्युरिटी गार्ड गरेर बसिरहेको छ,’ उनले भने, ‘छिमेकमा भारत हुँदैनथ्यो भने कर्णाली, सुदूरपश्चिमका अधिकांश मेरा घरका दाइ–भाइहरू भोकै मर्नुपर्ने अवस्था थियो।’

सांसद सुनारले नेपाल र भारतको दशगजा क्षेत्रमा दुवैतर्फबाट भइरहेको भोगचलनलाई जोडेर नेपालले सीमा मिचेको भन्ने विषय स्पष्ट पार्न खोजेका थिए। तर, भोगचलन र जमिन मिच्ने विषय फरक रहेको सीमाविद्हरूले यसअघि नै स्पष्ट पारिसकेका छन्। बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सुनारले सीमामा हुने वारपार भोगचलनलाई सीमा मिचेको विषयसँग जोडेर गलत अर्थ लगाएको सीमा मामिलाका जानकारहरूको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button