९ असार २०८३, मंगलवार

रुसी विदेशमन्त्री लाभरोभको ११औं अन्तर्राष्ट्रिय सम्मेलनमा सन्देश : रुस–चीन सहकार्य नयाँ युगको जग

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुस र चीनबीचको सम्बन्धले कुनै पनि पक्षको सार्वभौमिकतामा प्रतिबन्ध नलगाउने, विचारधाराबाट सीमित नहुने र तेस्रो देशविरुद्ध निर्देशित नहुने बताएका छन्। रुसी अन्तर्राष्ट्रिय मामिला परिषद् र चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानद्वारा आयोजित ‘रुस र चीन : नयाँ युगमा सहकार्य’ विषयक ११औं अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सन्देश पठाउँदै यो धारणा राखेका हुन्।

लाभरोभले सन् २०२६ रुस–चीन सम्बन्धका लागि विशेष वर्ष भएको उल्लेख गरे। ‘तीस वर्षअघि हाम्रा नेताहरूले पहिलो पटक संयुक्त घोषणामार्फत २१औं शताब्दीमा रणनीतिक अन्तरक्रियाद्वारा सुदृढ समान र विश्वासमा आधारित साझेदारीको मौलिक रूपमा नयाँ ढाँचा घोषणा गरेका थिए,’ उनले भने। सन् २००१ जुलाई १६ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति जियाङ जेमिनले हस्ताक्षर गरेको असल छिमेकी, मित्रता र सहयोग सन्धिले शताब्दीयौं पुरानो द्विपक्षीय सम्बन्धको इतिहासमा नयाँ अध्याय खोलेको उनको भनाइ छ।

लाभरोभले यी सम्बन्धको दिशा शीर्ष तहको विश्वासमा आधारित संवाद अर्थात् नेता कूटनीतिमा निर्भर रहने बताए। सन् २०२६ मे १९–२० मा राष्ट्रपति पुटिनको चीन भ्रमणका क्रममा दुवै नेताले सन्धिलाई थप पाँच वर्ष नवीकरण गरेको उनले जानकारी दिए। ‘सन्धिका सिद्धान्तहरू समयको कसीमा खरो उत्रिएका छन् र वर्तमान वास्तविकतामा पनि कायम छन्,’ उनले भने, ‘यसमा राज्य एकता र भौगोलिक अखण्डताको रक्षा, एकअर्काको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकासको मार्ग छनोटको सम्मान, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, पारस्परिक भौगोलिक दाबीको अभाव र साझा सीमालाई शाश्वत शान्ति तथा मित्रताको क्षेत्रमा रूपान्तरण गर्ने मस्को र बेइजिङको सङ्कल्प समावेश छ।’

अन्तर्राष्ट्रिय रूपमा यो सन्धि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै लाभरोभले रुस–चीन विदेश नीति साझेदारीले अन्तर्राष्ट्रिय मामिलामा केन्द्रीय स्थायित्वकारी तत्त्वको रूपमा काम गरिरहेको बताए। दुवै देश संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्, सांघाई सहयोग संगठन (एससीओ), ब्रिक्स, जी–२० र आसियान केन्द्रित मञ्चहरूमा प्रभावकारी रूपमा सहकार्य गरिरहेका छन्। उनले रुस र चीनले समान विचारधाराका साझेदारहरूसँग मिलेर अझ न्यायपूर्ण बहुध्रुवीय विश्व निर्माणमा योगदान गरिरहेको र युरेसियामा समान तथा अविभाज्य सुरक्षा र सहकार्यको क्षेत्र सिर्जना गर्न धेरै काम गरिरहेको बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button