प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध देशव्यापी मसाल जुलुस, पुतला दहन

प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्दै विभिन्न विद्यार्थी संगठनहरूले मसाल जुलुस निकालेका छन्। ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा काठमाडौंको त्रिचन्द्र क्याम्पस र आरआर क्याम्पसअगाडि मसाल जुलुस निकाल्दै प्रधानमन्त्री शाहको पुतलासमेत जलाइएको छ।













प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए। उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।
यसैक्रममा दाङको तुलसीपुरमा पनि प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिविरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ। उक्त प्रदर्शन नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले गरेका हुन्। यसैगरी देशका प्रमुख सहरहरूमा समेत मसाल जुलुस प्रदर्शन भएको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै सर्वसाधारणदेखि राजनीतिक दलसम्मले कडा आपत्ति जनाइरहेका छन्। विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले सार्वजनिक माफी माग्नुपर्ने माग राख्दै आएका छन्। आजको संसद् बैठकमा पनि यस विषयलाई लिएर विपक्षीहरूले कडा प्रतिवाद गर्ने तयारी गरेका छन्।





