रास्वपामा गुटगत रस्साकस्सीको संकेत, नेपालगन्जमै दुई छुट्टाछुट्टै कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री भूपदेव शाह पश्चिम भ्रमणका क्रममा नेपालगन्जमा रहेका छन्। तर, एउटै प्रकृतिका दुई छुट्टाछुट्टै कार्यक्रम आयोजना भएपछि पार्टीभित्र गुटगत रस्साकस्सी सुरु भएको संकेत देखिएको छ।
महामन्त्री शाह दिउँसो ३ बजेपछि पहिलो कार्यक्रममा नेपालगन्जको सुनाखरी पुगे। उक्त कार्यक्रममा हालै निर्वाचित नगर, वडा तथा पालिकाका पदाधिकारीलाई सम्मान, बधाई तथा प्रमाणपत्र वितरण गरियो भने नवआगमुकहरूलाई पार्टी प्रवेश गराइयो। राप्रपाका नेता एवं नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यलगायतले रास्वपा प्रवेश गरे। वैश्यले आगामी चुनावमा नेपालगन्जको मेयरमा उम्मेदवारी दिने घोषणासमेत गरेका छन्।
सुनाखरीको कार्यक्रममा पूर्वसांसद लक्ष्मी तिवारी, प्रदेश महामन्त्री नीलराज अधिकारी, जिल्ला अध्यक्ष हरपाल सिंह, बुद्धिसागर सुवेदी, नगर अध्यक्ष नवीन खड्कालगायत उपस्थित थिए। तर, गएको चुनावमा क्षेत्र नम्बर २ बाट संघीय चुनाव लडेका विवेक श्रेष्ठ भने उक्त कार्यक्रममा देखिएनन्, जसलाई कार्यकर्ताहरूले चासोका साथ हेरेका थिए।
महामन्त्री शाहले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय र प्रदेशको चुनाव जित्ने गरी एकमुख भएर लाग्न निर्देशन दिए।
सुनाखरीको कार्यक्रम सकिएपछि महामन्त्री शाह होटल पौवामा आयोजित अर्को कार्यक्रममा पुगे। त्यहाँ पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो, जहाँ विवेक श्रेष्ठ उपस्थित देखिए। त्यस कार्यक्रममा पनि धेरै जनाले पार्टी प्रवेश गरेका थिए।
एउटै प्रकृतिका कार्यक्रम दुई ठाउँमा किन आयोजना गरियो भन्ने प्रश्नमा श्रेष्ठले एउटा बधाई तथा शुभकामना र अर्को प्रवेश कार्यक्रम भएको भन्दै गोलमटोल जवाफ दिए। यता, पौवाको कार्यक्रममा नगएका सुनाखरी कार्यक्रमका सञ्चालक बुद्धिसागर सुवेदीले भने थकित भएकाले आफू नगएको बताए।
दुई छुट्टाछुट्टै कार्यक्रमबारे जसले जे व्याख्या गरे पनि पार्टीभित्र गुट देखिन थालेको जानकारहरू बताउँछन्। सुरुदेखि पार्टीमा लागेकाहरूले उम्मेदवारको आकांक्षा पाल्ने र नवप्रवेशीहरू उम्मेदवार बन्ने आशामा आउने क्रमले रास्वपामा आगामी चुनावमा उम्मेदवार छनोट पेचिलो बन्ने देखिएको छ।





