चीनले संयुक्त राष्ट्र सुरक्षा परिषदको कार्यवाहक अध्यक्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गर्यो

काठमाडौं । चीनले संयुक्त राष्ट्र सुरक्षा परिषदको मे महिनाको कार्यवाहक अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले जुन १ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा विभिन्न पक्षको सक्रिय समर्थनमा यो जिम्मेवारी पूरा भएको जानकारी गराए।
प्रवक्ताका अनुसार विगत एक महिनामा चीनले जिम्मेवारीबोध र रचनात्मक दृष्टिकोण अपनाउँदै सुरक्षा परिषदका सदस्य तथा सबै सदस्य राष्ट्रहरूसँग मिलेर मुख्य मुद्दामा ध्यान केन्द्रित गर्दै र व्यावहारिक कार्यमा आधारित भएर संयुक्त राष्ट्रसंघको बडापत्रबाट दिइएको जिम्मेवारी सक्रिय रूपमा पालन गरेको छ।
चीनको अध्यक्षतामा सुरक्षा परिषदले प्यालेस्टाइन र इजरायल, इरान, युक्रेनलगायतका तातो मुद्दाबारे विचार–विमर्श गरेको थियो। प्रवक्ता लिनले सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रको हैसियतमा चीनले सबै पक्षसँग एकताबद्ध सहकार्य जारी राखेर साँच्चिकै बहुपक्षीयतावादको अभ्यास गर्ने, संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तको रक्षा गर्ने र विश्व शान्ति तथा विकासको कार्यमा जिम्मेवारी वहन गर्ने बताए।





