२१ जेष्ठ २०८३, बिहीबार

ढाका उद्योगबाट तमानखोलाका महिला आत्मनिर्भर, पालिकाले खरिद गर्दै बजारीकरणमा सघाउँदै

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँकी जमुना घर्तीलाई हिजोआज ढाकाका कपडा बुन्न भ्याइनभ्याइ छ। महिला कल्याण आमा समूहको भवनमा बिहानैदेखि ढाकाको अस्कोट बुन्दै गरेकी उनी जस्तै १५ जना महिलाले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएका छन्।

ढाका उद्योगमार्फत महिलालाई आत्मनिर्भर बनाउने पहलअन्तर्गत गाउँपालिकाले महिलालाई ढाका उद्यमी बनाउनदेखि उत्पादन खरिद गर्नेसम्मका काममा सहयोग गर्दै आएको छ। ढाकाका सल, टोपी, गलबन्दी र अस्कोट बुन्ने र बिक्रीमार्फत यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन्।

महिलाले उत्पादन गरेका कपडा गाउँपालिकाको कार्यालयले खरिद गरी बिक्रीमा सहजीकरण गरिरहेको घर्तीले बताइन्। करिब सात वर्षअघि म्याग्दीबाट आएका प्रशिक्षकमार्फत गाउँमा ढाकाका कपडा उत्पादन गर्ने सीप सिकेका महिलालाई समूहमा आबद्ध गराएर थप व्यावसायिक बनाउन गाउँपालिकाले लगानी गरेको हो।

महिलालाई व्यावसायिक, स्वरोजगार र उद्यमी बनाउन पालिकाले सात वर्षअघिदेखि सीप सिकाउने, तान प्रदान गर्ने, समूहको भवन निर्माण गरिदिने, उत्पादित सामग्री खरिद गरी बिक्रीमा सहजीकरण गर्नेलगायत काम गर्दै आएको छ।

गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले पालिकाले विभिन्न कार्यक्रम आयोजना गर्ने र तिनमा मायाको चिनोस्वरूप महिलाले उत्पादन गरेका सल, गलबन्दी प्रयोग गर्दै आएको बताइन्। ‘ज्येष्ठ नागरिक सम्मानजस्ता कार्यक्रममा टोपी, गलबन्दी र अस्कोट प्रयोग गर्दै महिलाका उत्पादनको बजारीकरण गरिरहेका छौं,’ उनले भनिन्।

उपाध्यक्ष छन्त्यालका अनुसार हालसम्म सामग्री, भवन, प्रशिक्षणलगायत गतिविधिका लागि पालिकाले २५ लाख रुपैयाँ लगानी गरिसकेको छ। यहाँका महिलाले ढाकाका कपडा बुनेर मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

महिला कल्याण आमा समूहकी कोषाध्यक्षसमेत रहेकी घर्तीले सुरुवातका दिनमा उत्पादित सामग्री बिक्री नभएर सास्ती भए पनि पछिल्लो समय पालिकाले खरिद गरिदिन थालेपछि महिला उत्साहित भएको बताइन्। उनले पालिकाको साथ र सहयोगले तमान गाउँका महिलालाई उद्यमी बनाउनुका साथै आत्मनिर्भर बनाउँदै लगेको धारणा राखिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button