कर्णाली करिडोरको दोजाम पुल ८७ प्रतिशत सम्पन्न, असार १५ भित्र सक्ने लक्ष्य

हुम्ला । सम्झौता भएको साढे चार वर्षपछि कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को खार्पुस्थित दोजाममा कर्णाली नदीमाथि निर्माण भइरहेको स्टिल ट्रस्ट मोटरेबल पुलको निर्माण ८७ प्रतिशत पुगेको छ। हिल्सा–सिमकोट सडक योजनाको बारम्बारको ताकेतापछि जेठ मसान्तसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने भएकाले निर्माण कम्पनीले कामलाई तीव्रता दिएको हो।
हिल्सा–सिमकोट सडक योजनाका इन्जिनियर कुशल भुसालले साढे चार वर्षअघि कार्यालयले निर्माण कम्पनी स्वच्छन्द माउन्ट पुमरी जेभी नुवाकोटसँग सम्झौता गरे पनि यतिबेला कामले तीव्रता पाएसँगै निर्माण अन्तिम चरणमा पुगेको बताए। कम्पनीसँग २०७८ असोज १४ गते सम्झौता भएको थियो। काम सुरु भएपछि पूर्वपट्टिको भागमा तातोपानी निस्किँदा एक वर्ष काम रोक्नुपरेको थियो। पछि मोटरबाट तातोपानी तानेर फाल्दै पुलको संरचना सुस्त गतिमा निर्माण भए पनि यस वर्षदेखि कामले तीव्रता पाएको हो।
हाल पुलको दुवैतर्फका संरचना निर्माण भइसकेको र पुलका लागि आवश्यक स्टिल पार्टको जडान पूर्ण रूपमा सम्पन्न भइसकेको छ। नदी कटानबाट पुल जोगाउन दुवैतर्फ ग्याबिन र मेसिनरी वाल लगाउने कार्य पनि सम्पन्न भइसकेको छ। निर्माण कम्पनीले बिहानदेखि साँझ नपरुन्जेल काम धमाधम गरिरहेको छ। अब पुलको दुवैतर्फ पहुँच सडक निर्माण र ढलानको काम मात्र बाँकी रहेकोमा एक–दुई दिनभित्रै त्यो पनि सुरु गर्ने तयारी भइरहेको इन्जिनियर भुसालले जानकारी दिए।
५५ मिटर लम्बाइ र १० मिटर चौडाइको उक्त पुल निर्माणका लागि २०८० असोज ६ गते म्याद थप गरिएको थियो। कुल लागत ११ करोड ८३ लाख ९४ हजार ५०८ दशमलव ५२ रुपैयाँमा सम्झौता भएकोमा हालसम्म २० प्रतिशत मात्र वित्तीय प्रगति भएको छ। निर्माण कम्पनीले आगामी असार १५ भित्र पुल निर्माण सम्पन्न गर्ने जनाएको छ। यसअघि पुल निर्माण ढिलाइ भएपछि हुम्लावासीको मागअनुसार निर्माणाधीन पुलभन्दा केही माथि बेलिब्रिज निर्माण गरिएको थियो, जसले सदरमुकाम सिमकोटलाई गत वर्ष असार २२ गतेदेखि राष्ट्रिय सडक सञ्जालसँग जोडेको छ।





