‘सूचित संवादबाट परिवर्तन सुरु हुन्छ’ : पोखरामा युवा संघीयता संवाद सम्पन्न, गण्डकी युवा संघीयता सञ्जाल गठन

पोखरा । संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाको ‘सूचित संवादबाट परिवर्तन सुरु हुन्छ’ भन्ना साथ पोखरामा सोमबार सशक्त संघीयता सचेतना तथा युवा संवाद कार्यक्रम सम्पन्न भएको छ।
गण्डकी प्रदेशका युवा सहभागीहरूले बजेट सिमुलेसनमार्फत नीति निर्माताको भूमिका निर्वाह गरे, सार्वजनिक सेवा सुधारका लागि सरकारी जिम्मेवारीको नक्साङ्कन गरे र आफ्नै जवाफदेहिता उपकरणको डिजाइन तयार पारे। युरोपेली संघ, नर्वे र स्विट्जरल्यान्डको सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम (पीएलजीएसपी) अन्तर्गत आयोजित यो संवाद नेपालको शासन प्रणालीलाई समावेशी र उत्तरदायी बनाउने युएनडीपीको प्रतिबद्धताको एक मुख्य अंश हो।
कार्यक्रमको समापनमा प्रादेशिक युवा संघीयता बडापत्रको मस्यौदा तयार पारियो र नीति निर्माणमा युवा आवाजलाई प्रभावकारी बनाउन स्थायी मञ्चका रूपमा प्रादेशिक युवा संघीयता सञ्जाल गठन गरियो। आयोजकका अनुसार युवा नेताहरूले संघीयताको बारेमा सिक्ने मात्र नभई त्यसलाई आकार दिने काम गरिरहेका छन्। सिमुलेसन र नवप्रवर्तन प्रयोगशालामार्फत उनीहरूले अझ समावेशी र जवाफदेही नेपालका लागि समाधान सिर्जना गरिरहेका छन्।





