९ असार २०८३, मंगलवार

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रघाती’ भन्दै माओवादीद्वारा देशव्यापी मसाल जुलुसको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादसम्बन्धी संसद्मा दिएको विवादास्पद अभिव्यक्तिको कडा विरोध जनाएको छ।

पार्टीका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भनाइ राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताविरुद्ध रहेको जनाएका छन्।

आइतबार अर्थात् जेठ १७ गते संसद्मा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको रहेछ’ भनी दिएको अभिव्यक्तिलाई प्रकाण्डद्वारा जारी विज्ञप्तिमा आपत्तिजनक र खेदजनक भनिएको छ।

माओवादीले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायत दर्जनौं नेपाली भूमि भारतीय पक्षबाट मिचिएको दाबी गर्दै प्रधानमन्त्रीको पछिल्लो भनाइले भारतीय विस्तारवादलाई सहयोग पुगेको आरोप लगाएको छ। विज्ञप्तिमा प्रधानमन्त्रीको उक्त कदमलाई ‘नवदलाल पुँजीवादी र राष्ट्रघाती चरित्र’ को सङ्ज्ञा दिँदै यसले आम देशभक्त नेपालीको भावनामा चोट पुर्याएको उल्लेख गरिएको छ।

प्रधानमन्त्रीको यस अभिव्यक्तिको सशक्त प्रतिवाद गर्न भन्दै पार्टीले सोमबार साँझ ७ बजे देशभर मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ। यसअघि आइतबार साँझ पनि विभिन्न विद्यार्थी सङ्गठनहरूले काठमाडौंलगायत प्रमुख सहरहरूमा मसाल जुलुस निकाली प्रधानमन्त्रीको पुतला दहन गरेका थिए। विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने माग राख्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button