जुम्लामा भालुको आक्रमणबाट आठ भेडा मरे

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणबाट आठ भेडा मरेका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार सोमबार राति स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भेडामाथि भालुले आक्रमण गरेको हो। रातिको समयमा गोठमा राखिएको भेडाको बथानमा भालु पसेर आक्रमण गर्दा आठ भेडा मरेको प्रहरीलाई जानकारी प्राप्त भएको उनले बताए।
प्रहरीका अनुसार आक्रमणपछि पाँच भेडा हालसम्म सम्पर्कमा आउन सकेका छैनन्। बथानमा रहेका २९ भेडा भने सकुशल भेटिएका छन्। घटना रातिको समयमा भएकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भेडापालक किसान अधिकारीका अनुसार प्रतिभेडाको न्यूनतम मूल्य करिब १८ हजार रुपैयाँ पर्छ। आठ भेडा मर्दा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए।
पहाडी तथा हिमाली क्षेत्रमा वन्यजन्तुको बासस्थान र मानव बस्तीबीचको दूरी घट्दै जाँदा जङ्गली जनावरबाट पशुधनमा क्षति हुने घटना दोहोरिने गरेका छन्। स्थानीय किसानहरूले यस्ता घटनाबाट हुने आर्थिक क्षतिका लागि सम्बन्धित निकायबाट राहत तथा सुरक्षात्मक उपायको अपेक्षा गरेका छन्।





