हिमालय एयरलाइन्सले काठमाडौँ–शेञ्जेन सिधा उडान सुरु गर्दै

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनको आर्थिक, प्रविधि तथा नवप्रवर्तन केन्द्रका रूपमा परिचित शेञ्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ।
कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेञ्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो। नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको शेञ्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान सञ्चालन गरिनेछ।
हिमालय एयरलाइन्सका अनुसार काठमाडौँबाट शेञ्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार उडान हुनेछ भने शेञ्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ। यात्रुको माग र बजार सम्भावनाका आधारमा आगामी दिनमा उडान सङ्ख्या थप गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
कम्पनीले काठमाडौँ–शेञ्जेन सिधा उडानलाई नेपाल–चीन हवाई सम्पर्क विस्तारको महत्वपूर्ण कदमका रूपमा लिएको छ। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु कम्पनीको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताए।
उनका अनुसार काठमाडौँ–शेञ्जेन उडानले नेपाल र चीनबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउनेछ। साथै, यसले पर्यटन, व्यापार, लगानी, शिक्षा तथा प्रविधि सहकार्यका क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने विश्वास कम्पनीले लिएको छ।
“हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गर्दै आएको छ। शेञ्जेन उडानले नेपाल र चीनबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनेछ,” उपाध्यक्ष श्रेष्ठले भने।
शेञ्जेन चीनको प्रमुख प्रविधि, उत्पादन, व्यापार तथा नवप्रवर्तन केन्द्रका रूपमा परिचित सहर हो। विश्व प्रविधि उद्योगमा तीव्र गतिले उदाएको यस सहरलाई चीनको ‘सिलिकन भ्याली’ समेत भनिन्छ। सूचना प्रविधि, इलेक्ट्रोनिक्स, उत्पादन, स्टार्टअप, नवप्रवर्तन र लगानीका क्षेत्रमा शेञ्जेनको विशेष पहिचान रहेको छ।
काठमाडौँ–शेञ्जेन सिधा हवाई सेवाबाट व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी, उद्यमी तथा लगानीकर्तालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। नेपालबाट चीनका प्रमुख आर्थिक केन्द्रहरूसँग सहज हवाई सम्पर्क विस्तार हुनु पर्यटन प्रवर्द्धन, व्यापारिक सहकार्य र जनस्तरको सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ।
हिमालय एयरलाइन्सले यात्रुलाई सुरक्षित, सहज, समयमै र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। कम्पनीका अनुसार नयाँ उडान सेवाले नेपाल र चीनबीच पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, लगानी सहकार्य तथा जनस्तरको सम्बन्ध सुदृढ बनाउन सहयोग पुर्याउनेछ।
चीन नेपालका प्रमुख व्यापार साझेदारमध्ये एक हो। पछिल्लो समय नेपाल–चीनबीच हवाई, स्थल, व्यापारिक, सांस्कृतिक तथा पर्यटन सम्बन्ध विस्तारका प्रयास भइरहेका छन्। यस्तो अवस्थामा काठमाडौँ–शेञ्जेन सिधा उडानले दुई देशबीचको सम्पर्कलाई थप व्यावहारिक, सहज र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
हिमालय एयरलाइन्सले यसअघि पनि चीनका विभिन्न गन्तव्यमा उडान विस्तार गर्दै आएको छ। शेञ्जेन उडान थपिएसँगै कम्पनीको चीन केन्द्रित अन्तर्राष्ट्रिय हवाई सञ्जाल अझ फराकिलो हुने भएको छ।





