बन्द हुँदै गरेको दूतावासमा एभरेष्ट दिवसको रौनक

सरकारले बन्द गर्ने निर्णय गरेकै दिन सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासमा अन्तर्राष्ट्रिय एभरेष्ट दिवस भव्य रूपमा मनाइएको छ।
गत शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै तीन वटा राजदूतावास, दुई वटा महावाणिज्यदूतावास र एउटा दूतावासको सम्पर्क कार्यालय बन्द गर्ने घोषणा गरे। तीमध्ये सान फ्रान्सिस्कोको महावाणिज्यदूतावास पनि एक हो।
तर सोही दिन उक्त महावाणिज्यदूतावासले अन्तर्राष्ट्रिय एभरेष्ट दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्यो। परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट सुरु भएको कार्यक्रम ‘सगरमाथा : विश्वको सर्वोच्च शिखर, नेपालको पहिचान र गौरव’ भन्ने नाराका साथ सम्पन्न भएको महावाणिज्यदूतावासले जनाएको छ।
कार्यक्रममा महावाणिज्यदूत लक्ष्मण खनालले सगरमाथाको ऐतिहासिक र सांस्कृतिक महत्वबारे चर्चा गरे। क्यालिफोर्निया विश्वविद्यालय बर्कलीकी अनुसन्धानकर्ता निमा शेर्पालगायतले सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे धारणा राखे। यस्तै पाँच पटक सगरमाथा आरोहण गरिसकेका ल्हाक्पा नोर्बु शेर्पाले आफ्नो आरोहण अनुभव सहभागीसँग बाँडे।
बजेट भाषणले एकातिर दूतावास बन्दको सूचना दिइरहँदा अर्कोतिर सोही दूतावासले राष्ट्रिय गौरवको कार्यक्रम गरेर नेपाली पहिचानको झण्डा फहराइरहेको विडम्बनापूर्ण संयोग बनेको छ।





