प्रधानमन्त्रीको अभिव्यक्ति बचाउन देशकै विरुद्ध प्रमाण खोज्ने कार्य राष्ट्रवाद नभएको राप्रपा सांसद ओलीको टिप्पणी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिको बचाउ गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरू देशकै विरुद्ध प्रमाण सङ्कलनमा लागेको दाबी गरेकी छिन् । मङ्गलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद ओलीले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने दिएको अभिव्यक्तिलाई सही साबित गर्न रास्वपाका समर्थकहरू देशकै विरुद्ध प्रमाण खोज्दै हिँडेको आरोप लगाइन् ।
‘आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो, त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेका छन्,’ सांसद ओलीले भनिन्, ‘देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन् तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन ।’ उनले यस्तो काममा रास्वपाका सांसदहरू नै संलग्न रहेको जिकिर गर्दै त्यस्तो गतिविधि नगर्न आग्रह गरिन् । ‘यो सदनको सम्मानित माननीयज्यूहरूले त्यस किसिमका गतिविधि नगर्न म आग्रह गर्न चाहन्छु । नेता पूजा गर्ने, व्यक्ति पूजा गर्ने यति खतरनाक हुन्छ कि एकदिन मानिसले आफ्नो नेताको बचाउ गर्दै आफ्नो देशको पक्ष छोडेको यहाँहरूलाई स्मरण पनि रहँदैन,’ उनले भनिन् ।
सांसद ओलीले प्रधानमन्त्री शाहले बोलेको विषय कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त गम्भीर भएको बताइन् । उनले अन्तर्राष्ट्रिय कानुनको इस्टोपेल सिद्धान्तअनुसार राज्यका आधिकारिक अभिव्यक्तिहरू पछि अस्वीकार गर्न कठिन हुने र यसले राष्ट्रिय दाबी कमजोर पार्न सक्ने स्मरण गराइन् । उनले भनिन्, ‘यस्ता संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीले अत्यन्त सावधानी, जिम्मेवारीबोध र कूटनीतिक परिपक्वतासहित भाषा प्रयोग गर्नुपर्ने अनिवार्य हुन्छ किनभने यसले देशको अन्तर्राष्ट्रिय छवि र हितलाई हानि गर्न सक्छ ।’ संसद्मा बोलेका कुरालाई प्राविधिक रूपमा सच्याउन वा पुनः व्याख्या गर्न सकिए पनि विश्वव्यापी सञ्चारमाध्यममा गइसकेको सन्देश सच्याउन नसकिने उनको भनाइ थियो । सांसद ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न शीर्ष नेताहरूसहितको सर्वदलीय बैठक बोलाउनसमेत सुझाव दिइन् ।





