भाजपा मुख्यालयमा रास्वपा सभापति लामिछानेको भव्य स्वागत, द्विपक्षीय राजनीतिक संवादमा जोड

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा भएको भेटवार्तामा दुवै दलका नेताहरूबीच आपसी हित र राजनीतिक सहकार्यका विविध पक्षमा छलफल भएको छ।
भाजपाद्वारा जारी विज्ञप्ति अनुसार सभापति लामिछानेको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेको हो। ‘भाजपालाई जान्नुहोस्’ (नो बिजेपी) पहलअन्तर्गत आयोजित सो भेटमा अध्यक्ष नवीनले भारत र नेपालबीचको गहिरो, ऐतिहासिक र सभ्यतागत सम्बन्धको चर्चा गरे। उनले साझा सांस्कृतिक विरासत र बलियो जनस्तरको सम्बन्ध नै दुई देशबीचको खम्बा भएको उल्लेख गर्दै यस्ता भ्रमण र छलफलले लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने र दुई पार्टीबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने विश्वास व्यक्त गरे।
भेटका क्रममा भाजपा अध्यक्ष नवीनले आफ्नो पार्टीको संगठनात्मक यात्रा, वैचारिक दृष्टिकोण, संगठनात्मक संरचना र जनताकेन्द्रित राजनीतिक दृष्टिकोणबारे जानकारी गराए। रास्वपा प्रतिनिधिमण्डलले भाजपाको सदस्यता वितरण प्रक्रिया, उम्मेदवार चयन प्रणाली र तल्लो तहका कार्यकर्ता पहिचान गरी उनीहरूलाई परिचालन गर्ने संयन्त्रबारे विशेष चासो राखेको थियो। जवाफमा अध्यक्ष नवीनले भाजपाको सांगठनिक शक्ति निरन्तरको जनसम्पर्क, बुथ तहको सक्रियता र लोकतान्त्रिक प्रक्रियामा सर्वसाधारण नागरिकको व्यापक सहभागिताबाट निर्माण भएको स्पष्ट पारे। साथै, उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको विकासमुखी शासन मोडलको समेत चर्चा गरे। विकास, सेवा, सुशासन र कल्याणकारी योजनाहरूको प्रवाह नै भाजपाको जनसम्पर्क र शासन पद्धतिको मुख्य केन्द्रविन्दु रहेको उनको भनाइ थियो।
छलफलमा दुवै देशका नेताहरूले राजनीतिमा जेन–जी को बढ्दो भूमिका र सम्भावनाका बारेमा पनि कुराकानी गरे। युवाहरूले लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस र भविष्यको नेतृत्व निर्धारणमा खेल्न सक्ने भूमिकाबारे दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो।
उक्त बैठकमा भाजपाका तर्फबाट राष्ट्रिय महासचिव अरुण सिंह, सांसद संजय जैसवाल, सांसद बाँसुरी स्वराज र विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेको उपस्थिति रहेको थियो। भेटघाटका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयमा रहेको मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो।





