सीमा विवाद द्विपक्षीय विषय, तेस्रो पक्षको भूमिका हुँदैन : भारत

भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवाद स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने स्पष्ट पारेको छ।
मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनमा बोल्दै दुई देशबीचको सीमांकनको कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमांकनका विषय सुल्झिन बाँकी छन्। सीमांकन भइसकेका क्षेत्रमा पनि सीमा वारपारको कब्जा र दशगजा अतिक्रमणका केही घटना देखिएकाले संयुक्त रूपमा नक्शांकन भइरहेको उनले बताए।
प्रवक्ता जयसवालले नेपाल र भारतबीचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय भएकाले कुनै पनि तेस्रो मुलुकको भूमिका नरहने स्पष्ट पारे। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्दै नेपाल र भारत सीमा समस्याबारे कूटनीतिक पहल भइरहेको र बेलायतलाई पनि कूटनीतिक नोट पठाइएको जानकारी दिएका थिए। उनले सीमा विवाद समाधानका लागि बेलायतसँग पनि कुरा गर्न आवश्यक रहेको भनाइ राखेका थिए। त्यसप्रति भारतीय पक्षले असहमति जनाएको छ।
प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले भने, ‘नेपाल र भारतबीचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय हो। यस्ता मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका रहँदैन र यो कुरा सम्बन्धित सबै पक्षलाई स्पष्ट हुनुपर्छ।’
सीमासम्बन्धी सबै प्राविधिक र कूटनीतिक विषय सम्बोधन गर्न दुई देशबीच प्रभावकारी द्विपक्षीय संयन्त्र क्रियाशील रहेको उनको भनाइ छ। प्रवक्ता जयसवालले नेपाल र भारतबीच जनस्तरका साथै राजनीतिक दलहरूबीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गरे। पछिल्लो समय नेपालबाट भइरहेका उच्चस्तरीय भ्रमण र विभिन्न तहका भेटवार्ताले आपसी सम्पर्क र सम्बन्धलाई थप सुदृढ बनाइरहेको उनले बताए।





