रास्वपा हरिवनको सभापतिमा मोक्तान विजयी, निवर्तमान सभापति न्यौपानेद्वारा पार्टी परित्याग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीको हरिवन नगरपालिकाका निवर्तमान सभापति रामहरि न्यौपानेले पार्टी परित्याग गरेका छन्। हिजो सम्पन्न नगर अधिवेशनमा लज्जास्पद हार बेहोरेपछि उनले पार्टी छाडेको उनका प्रतिस्पर्धीहरूको दाबी छ।
नगर अधिवेशनबाट रास्वपा हरिवन नगरपालिकाको नयाँ सभापतिमा संजीव मोक्तान निर्वाचित भएका छन्। मोक्तान ८४ मत प्राप्त गरी विजयी हुँदा निवर्तमान सभापति न्यौपानेले जम्मा सात मत मात्र प्राप्त गरे। हारपछि उनले पार्टी परित्याग गरेको बताइन्छ।
केही दिनअघि बिरामी परेका न्यौपाने पहिले नेपाली कांग्रेस समर्थक थिए। उनी नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त निर्देशक हुन्। बैंकमा सेवारत रहँदा उनी कांग्रेस निकट कर्मचारीहरूको संगठन वित्तीय संस्था कर्मचारी संघको निर्वाचनमा प्रायः निर्वाचन मण्डलको अध्यक्ष बन्ने गरेका थिए।





