३ असार २०८३, बुधबार

प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ : श्रम संस्कृति पार्टी अध्यक्ष साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा आएर माफी माग्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत भएकाले माफी माग्नुपर्ने बताएका हुन्।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति भारतलाई रिझाउने आशयले आएको हो कि भन्ने शङ्का उत्पन्न भएको बताए। प्रधानमन्त्री शाहको ‘नेपालले भारतको सीमा मिचेको रहेछ’ भन्ने अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता र सुरक्षामाथि नै खतरा उत्पन्न भएको उनको भनाइ छ। उनले प्रधानमन्त्रीले नेपालले भारतको कहाँ र कति भूमि मिचेको हो भन्ने स्पष्ट जानकारी दिनुपर्नेसमेत बताए।

उनले भने, ‘उहाँले बोल्नुभएको सरासर गलत छ। कार्यकारी प्रमुखले त्यो तरिकाले बोल्न हुँदैन। उहाँले जे बोल्नुभएको छ, त्यसले हाम्रो देशको भौगोलिक अखण्डता, सार्वभौमसत्ता र सुरक्षामाथि नै खतरा भएको देखिन्छ। त्यो बोलिसकेपछि विभिन्न ठाउँहरूमा भारतीय सेनाहरू हातहतियार लिएर प्रवेश गरे, विभिन्न खालका योजनाहरू रोकिए भन्ने कुराहरू आइरहेको छ। उहाँले आफ्नो गलत भनाइलाई सच्याउँदै सदनमा माफी माग्नुपर्छ।’

अध्यक्ष साम्पाङले प्रधानमन्त्री शाहले संसद्मा आएर माफी नमागेसम्म संसद्मा अन्य विषयमा छलफल नहुने स्पष्ट पारे। उनले राष्ट्रियताभन्दा ठूलो बजेटको छलफल नहुने उल्लेख गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button