रुसद्वारा फ्रान्सेली सैन्य बलद्वारा खुला समुद्रमा जहाज नियन्त्रणको कडा विरोध, अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनको आरोप

मस्को । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले फ्रान्सेली सैन्य बलले बेलायतको सहयोगमा खुला समुद्रमा रुसी जहाज ‘टागोर’ लाई नियन्त्रणमा लिएको घटनाको कडा शब्दमा निन्दा गरेकी छन्। उनले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको बताएकी छन्।
जाखारोभाका अनुसार मे ३१ का दिन मुर्मान्स्कबाट क्यामरुनतर्फ जाँदै गरेको उक्त जहाजलाई ब्रिटनीदेखि करिब ४०० समुद्री माइल पश्चिममा खुला समुद्रमा रोकी नियन्त्रणमा लिइएको थियो। जहाजमा लगभग कुनै पनि मालसामान थिएन। फ्रान्सेली पक्षले जहाजले झूटो झण्डा प्रयोग गरेको आरोप लगाएको छ। रुसी दूतावासले पेरिससँग घटनाको पूर्ण विवरण माग गर्दै चालक दलका रुसी नागरिकहरूको सुरक्षाका लागि व्यापक कदम चालिरहेको जनाएको छ।
प्रवक्ता जाखारोभाले फ्रान्सले सन् १९८२ को संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुन महासन्धिको धारा ११० देखाउँदै उक्त कारबाहीलाई जायज ठहराउन खोजेको भन्दै त्यो तर्क पूर्ण रूपमा आधारहीन रहेको बताइन्। उक्त धाराले खुला समुद्रमा कुनै जहाजको ‘कुनै राष्ट्रियता नभएको’ अवस्थामा निरीक्षण गर्न सकिने व्यवस्था गरेको छ। ‘फ्रान्सेली अधिकारीहरूको आफ्नो कारबाही अन्तर्राष्ट्रिय कानुनअनुरूप भएको दाबी युरोपेली कानुनी शून्यता र आफ्नो स्वार्थअनुसार मापदण्डहरूको चयनात्मक पुनर्लेखनको अर्को उदाहरण हो,’ उनले भनिन्।
जाखारोभाले अन्तर्राष्ट्रिय समुद्री कानुनले युद्धपोतलाई खुला समुद्रमा जहाज रोक्न र अत्यन्त सीमित परिस्थितिमा निरीक्षण गर्न अनुमति दिए पनि खुला समुद्रबाट जबरजस्ती जहाजलाई अर्को दिशामा मोडेर युद्धपोतको गृह राष्ट्रको बन्दरगाहमा पुर्याउने अधिकार कुनै पनि अन्तर्राष्ट्रिय सन्धिले प्रदान नगरेको स्पष्ट पारिन्। खुला समुद्रमा निर्बाध नौवहन स्वतन्त्रता लागू हुने उनले स्मरण गराइन्।
उनले राष्ट्रपति म्याक्रोँले तथाकथित ‘अन्तर्राष्ट्रिय’ प्रतिबन्धहरूको उल्लङ्घन गरेको आरोपमा जहाजलाई फ्रान्सेली बन्दरगाहतर्फ मोडिएको बताएकोप्रति पनि कडा आपत्ति जनाइन्। ‘स्पष्ट रूपमा भनौं: संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट स्वीकृत प्रतिबन्धहरू मात्र वास्तविक रूपमा अन्तर्राष्ट्रिय हुन्,’ उनले भनिन्। युरोपेलीहरूले अपनाएका गैरकानुनी एकपक्षीय प्रतिबन्धात्मक उपायहरू फ्रान्को–ब्रिटिस समुद्री डाँकुहरूको कल्पनामा मात्र ‘अन्तर्राष्ट्रिय’ रहेको उनको भनाइ थियो। यस्ता प्रतिबन्ध र अन्तर्राष्ट्रिय कानुनबीचको विरोधाभास संयुक्त राष्ट्रसङ्घ महासभाले पटकपटक औंल्याइसकेको उनले स्मरण गराइन्।
प्रवक्ता जाखारोभाले युरोपेली सहकर्मीहरूलाई उनीहरूकै हितमा सञ्चालित जहाजहरूले नियमित रूपमा सुविधाका झण्डा प्रयोग गर्ने गरेको सम्झाउँदै फ्रान्सले खुला समुद्रमा त्यस्ता जहाजहरूविरुद्ध कदम चाल्ने प्रयास जारी राखेमा विश्वव्यापी व्यावसायिक नौवहनका लागि त्यो महँगो साबित हुन सक्ने चेतावनी दिइन्।





