२२ जेष्ठ २०८३, शुक्रबार

२९औं सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सुरु, १३० भन्दा बढी देशका २० हजार सहभागी

मस्को । विश्वको सबैभन्दा प्रतिष्ठित आर्थिक मञ्चमध्ये एक मानिने २९औं सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (स्पाइफ) जुन ३ देखि ६ सम्म रुसको सेन्ट पिटर्सबर्गमा आयोजना हुँदैछ। सन् १९९७ देखि सञ्चालन हुँदै आएको यो मञ्च सन् २००६ देखि रुसी राष्ट्रपतिको संरक्षण र प्रत्यक्ष सहभागितामा आयोजना गरिन्छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मञ्चका सहभागी, आयोजक र अतिथिहरूलाई पठाएको शुभकामना सन्देशमा भनिएको छ, ‘मलाई विश्वास छ कि तपाईंहरूको परम्परागत रूपमा गहन र नतिजामुखी छलफलले ऊर्जा, डिजिटलाइजेसन, खाद्य सुरक्षा र मानव पुँजी विकास, वित्तीय तथा व्यापार सार्वभौमसत्ता सुदृढीकरणलगायत आर्थिक र सामाजिक जीवनका सबै क्षेत्रमा नयाँ प्रभावकारी समाधान विकास गर्न मद्दत गर्नेछ र समग्रमा हाम्रा राष्ट्र र जनताको हितमा सेवा गर्दै अन्तर्राष्ट्रिय सहयोग, सुरक्षा र स्थायित्वमा योगदान पुर्याउनेछ।’

यस वर्षको मञ्चमा १३० भन्दा बढी देश तथा क्षेत्रका २० हजार व्यक्तिले सहभागिता पुष्टि गरेका छन्। कार्यक्रमअन्तर्गत १५० भन्दा बढी विषयगत सत्र सञ्चालन हुने तालिका छ। ‘व्यावहारिक संवाद : स्थिर भविष्यको मार्ग’ मुख्य नारा रहेको यस वर्षको मञ्चको व्यावसायिक कार्यक्रम विश्व अर्थतन्त्रमा आएको व्यापक परिवर्तनबीच विश्वव्यापी विकासको नयाँ मोडल निर्माणमा केन्द्रित हुनेछ। यसलाई पाँच रणनीतिक खण्डमा विभाजन गरिएको छ : ‘विश्व अर्थतन्त्र : द्वन्द्व र सहकार्यबीच’, ‘रुसी अर्थतन्त्र : वृद्धिको मार्गमा फर्कन संरचनात्मक परिवर्तन’, ‘भविष्य निर्माण गर्ने प्रविधिहरू’, ‘नयाँ प्रविधिको युगमा समाज’, र ‘जीवन परिवेश : नयाँ प्रविधि, नयाँ गुणस्तर’।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मञ्चमा सहभागिता जनाउनेछन्। परम्पराअनुसार रुसी विदेश मन्त्रालयको विभिन्न सत्रहरूमा व्यापक प्रतिनिधित्व रहनेछ। जुन ३ मा उपविदेशमन्त्री एलेक्जान्डर अलिमोभले ‘विभाजित राष्ट्रहरूको सङ्गठन? अन्तर्राष्ट्रिय सामूहिक शासन संस्थाहरूमा रुसको भविष्य’ गोलमेच तथा उपविदेशमन्त्री सर्गेई रायबकोभले रुस–ब्राजिल गोलमेचमा भाग लिनेछन्। जुन ४ मा उपविदेशमन्त्री मिखाइल गालुजिनले ‘सङ्घीय राज्य : प्रथम हुने समय’ गोलमेचमा सहभागिता जनाउनेछन्। जुन ५ मा उपविदेशमन्त्री अलेक्जान्डर पान्किनले ‘रुस–एपेक : सन् २०३५ सम्मको क्षितिजमा व्यापक सहकार्यका सम्भावनाहरू’ विशेष विषयगत सत्रमा भाग लिनेछन्।

यसैगरी जुन ३–४ मा रुसी विदेश मन्त्रालयको सूचना तथा प्रेस विभागले ‘तपाईंका शब्दहरू गोलीजस्तै : सूचना कसरी आधुनिक युगको सबैभन्दा शक्तिशाली हतियारमा रूपान्तरित भयो’ प्यानल सत्र र ‘इन्टरनेशनल अफेयर्स’ पत्रिकासँगको सहकार्यमा ‘युरोपको अपहरण : इतिहासका नसिकिएका पाठ, युरोपेलीहरूले आफू र आगामी पुस्ताबाट कस्तो भविष्य खोसे?’ सत्रको सहआयोजना गर्नेछ। जुन ३–४ मै विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले ‘सञ्चारमाध्यममा कृत्रिम बुद्धिमत्ताका सीमाहरू’ प्यानल सत्र र ‘सिर्जनात्मक अर्थतन्त्र : प्रतिस्पर्धी आख्यान वा साझा अर्थवरिपरि एकता’ सत्रमा भाग लिनेछिन्। जुन ५ मा ‘सांस्कृतिक सङ्केत : पहिचानको जग, रुसको अनुभव र भविष्यको दृष्टिकोण’ शीर्षकमा रुसी विदेश मन्त्रालयका प्रतिनिधिहरूको सहभागितामा सत्र आयोजना हुनेछ। मारिया जाखारोभाको साप्ताहिक पत्रकार सम्मेलन पनि जुन ४ मा मञ्चकै पार्श्वमा हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button