२१ जेष्ठ २०८३, बिहीबार

७० वर्षको उमेरमा राममायाँले पाइन् नागरिकता

म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलबार उनलाई नागरिकता हस्तान्तरण गरेको हो।

विसं २०१३ सालमा जन्मिएकी राममायाँ शारीरिक रूपमा अपाङ्गता भएकी एकल महिला हुन्। एउटा हात नचल्ने उनी नागरिकताको अभावमा राज्यले उपलब्ध गराउने सेवा सुविधाबाट वर्षौंदेखि वञ्चित थिइन्। कान्छो भाइ गर्भे खत्रीले आवश्यक कागजपत्र जुटाएर जिल्ला प्रशासन कार्यालयमा पुर्याएपछि बल्ल उनको हातमा नागरिकता परेको हो। प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गरे।

नागरिकता पाएपछि राममायाँले सामाजिक सुरक्षा भत्ताका लागि प्रक्रिया सुरु गर्ने बताएकी छन्। “नागरिकता पाएपछि निकै खुसी लागेको छ,” उनले भनिन्, “अब भत्ता पनि पाइने भयो।” उनले नागरिकता प्राप्त गरेलगत्तै राष्ट्रिय परिचयपत्रका लागि पनि आवेदन फारम भरेकी छन्।

सहायक प्रजिअ आचार्यले समाजमा अझै पनि बुढेसकालसम्म नागरिकता नबनाएका सर्वसाधारण भेटिने गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरू आवश्यक प्रक्रिया पूरा गरी आएमा प्रशासनले सहज रूपमा सेवा दिने बताए। “दुर्गम ठाउँहरूमा सामाजिक सुरक्षा भत्ता खाने उमेरसम्म पनि नागरिकताबारे जानकारी नै नभएका नागरिक भेटिनु दुःखद पक्ष हो,” उनको भनाइ छ।

नेपालमा १८ वर्ष उमेर पुगेका नागरिकलाई नागरिकता प्रमाणपत्र प्रदान गर्ने कानुनी व्यवस्था छ। तर नागरिकता किन बनाउनुपर्छ, यसको फाइदा के छ, र कसरी कहाँ बनाउने भन्ने ज्ञानको अभावमा म्याग्दीका ग्रामीण बस्तीहरूमा योग्य उमेरका धेरै व्यक्ति अझै पनि नागरिकताविहीन रहेको पाइन्छ। विशेषगरी शारीरिक अपाङ्गता भएका, आर्थिक अवस्था कमजोर भएका र एकल महिलाहरू यसबाट बढी प्रभावित छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button