१ असार २०८३, सोमबार

नक्सालबाट दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिकलाई काठमाडौंको नक्सालबाट पक्राउ गरेको छ। पक्राउ परेकालाई मंगलबार सार्वजनिक गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ पर्नेहरूमा ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन शुआन्गुई रहेका छन्। उनीहरू भिजिट भिसामा नेपाल आएको र भिसाको उद्देश्यविपरीत गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१ नक्सालस्थित नारायणचौर क्षेत्रमा उनीहरूले आरआर बिल्डिङमा ‘एन्ट्रो टेक्नोलोजी’ नामको कार्यालय सञ्चालन गरेका थिए। सो कार्यालयमार्फत उनीहरूले विदेशी मोडल तथा युवतीका नाममा लाइभ हब एपमा अकाउन्ट खोल्ने, विदेशी तथा भारतीय नागरिकसँग सम्पर्क गर्ने, कुराकानीका क्रममा रकम माग्ने र अन्य शङ्कास्पद गतिविधि गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले प्राप्त सूचनाका आधारमा उनीहरूलाई नक्साल क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई अध्यागमन ऐनअन्तर्गत थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button