फ्लाइ दुबईको चासोले पोखरामा पलायो नयाँ तरङ्ग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै साढे तीन वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको पोखराका लागि मङ्गलबारको दिन एउटा सुखद सङ्केत लिएर आयो।
विश्वकै चर्चित हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई भेटेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने इच्छा व्यक्त गरेसँगै बासिन्दा र पर्यटन व्यवसायीहरूमा आशाको सञ्चार भएको छ।
दुई दशकभन्दा लामो उड्डयन अनुभव बोकेका लुकाजले पोखराको प्राकृतिक छटाले आफू मोहित भएको प्रतिक्रिया दिँदै भने, ‘फ्लाइ दुबई उडानमार्फत पोखरासँग जोडिन पाए यो क्षेत्रकै पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्नेछ।’ उड्डयन सुरक्षा रणनीति तथा जोखिम व्यवस्थापनका विज्ञ लुकाजले विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्ड अनुपालनको पक्षमा आफू विश्वस्त रहेको सङ्केत पनि गरे।
महानगर प्रमुख आचार्यले यसअघिका चार्टर उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने तथ्य प्रमाणित भइसकेको बताए। ‘पोखरा पर्यटनको राजधानी हो। यसलाई विश्वसामु चिनाउन अन्तर्राष्ट्रिय उडान अपरिहार्य छ,’ उनले भने, ‘फ्लाइ दुबईजस्तो प्रतिष्ठित कम्पनीले चासो देखाउनु हाम्रा लागि ठूलो अवसर हो।’
भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराई पनि सहभागी थिए। मित्रराष्ट्र चीनले २२ अर्बभन्दा बढी लगानीमा निर्माण गरेको यो विमानस्थल २०७९ पुस १७ मा उद्घाटन भए पनि हाल आन्तरिक उडानमै सीमित छ। नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएमा पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटन उद्योगले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ।





