१ असार २०८३, सोमबार

लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई

'सामरिक सुरक्षा र सार्वभौमसत्ताको गाँठो फुकाउनुपर्छ'

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध लामो समयदेखि ग्रिस मिथकको ‘सिसिफसको कथा’ जस्तै दोहोरिन अभिशप्त भइरहेको टिप्पणी गरेका छन्। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अङ्ग्रेजी दैनिक ‘द हिन्दुस्तान टाइम्स’ मा प्रकाशित लेखबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले यस्तो बताएका हुन्।

सभापति लामिछानेको लेखले नेपाल र भारत दुवैतर्फ तरङ्ग ल्याएको उल्लेख गर्दै डा. भट्टराईले नेपाल–भारत सम्बन्धमा बाहिर नदेखिने तर भित्रभित्रै बल्झिरहने सामरिक सुरक्षा र राष्ट्रिय सार्वभौमसत्ताको गम्भीर पाटो रहेको औंल्याएका छन्।

भट्टराईले नेपाल–भारत सम्बन्धमा विकास साझेदारी र सभ्यता/संस्कृतिका कुरा गरुन्जेल दुवै देशमा प्रशंसा हुने गरेको स्मरण गरे। आफ्नो प्रधानमन्त्रीत्व कालमा तत्कालीन पार्टीभित्रकै विरोधका बाबजुद बिप्पा सम्झौता गर्दा विकासको ओइरो लाग्ने अपेक्षासहित दुवैतर्फ खुसी छाएको प्रसङ्ग उनले जोडेका छन्।

तर, कूटनीतिको त्यो बाहिरी पाटो मात्रै भएको उल्लेख गर्दै उनले लेखेका छन्, “अर्को खुला नदेखिने तर भित्रभित्रै पुतपुताइरहने, दुवै पक्षले मनमनै गुनगुनाइरहने र सधैं दुःख दिइरहने गम्भीर पाटो पनि छ, त्यसबारे हामी दुवैतर्फका जिम्मेवार मान्छेहरू खुला रूपमा बोल्दैनौं तर खाष्टोमुनि मुड्की बजारीरहन्छौं।”

पूर्वप्रधानमन्त्री भट्टराईले भारतीयको दिलदिमागमा अङ्ग्रेजी शासनकालदेखि नै ‘सुरक्षाको मामिलामा हिमालको सेरोफेरो सबै मेरो’ भन्ने सोच जमेर बसेको र सीमा विवाद त्यसैको अभिव्यक्ति भएको दाबी गरेका छन्। अर्कोतर्फ, नेपालीहरूमा राष्ट्रिय सार्वभौमसत्ताको विषयलाई लिएर ‘सिक्किमीकरण’ को त्रास सधैं गहिरिएर बसेको उनको विश्लेषण छ।

यही मनोवैज्ञानिक असमझदारी र कूटनीतिक गाँठो फुकाउनका लागि आफू प्रधानमन्त्री हुँदा आन्तरिक र बाह्य तयारी गरेर प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) को अवधारणा अघि सारेको डा. भट्टराईले स्पष्ट पारेका छन्। तर, पछि गठित ईपीजीको प्रतिवेदन अहिलेसम्म ‘मृत्युशैय्यामा छट्पटाइरहेको’ भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

सभापति लामिछानेको जारी दिल्ली भ्रमण कूटनीतिको यो दुष्चक्र तोड्न सफल होस् भनी कामना गर्दै भट्टराईले वर्तमान समयमा काठमाडौँ र दिल्ली दुवैतर्फ सुनिएका ‘गड्याङ्गुडुङ’ का आवाज भने प्रिय नरहेको सङ्केत गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button