जेठो हिमाल अन्नपूर्ण प्रथमको ७६औं आरोहण दिवस
आधार शिविरदेखि नारच्याङसम्म दौड प्रतियोगिता आयोजना
आठ हजार मिटरभन्दा अग्लो हिमालमध्ये सबैभन्दा पहिलो मानव पाइला परेको ‘जेठो हिमाल’ अन्नपूर्ण प्रथमको आरोहण भएको आज ७६ वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको ८,०९१ मिटर अग्लो यस हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ।
सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि मात्र विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। नेपालको पर्वतारोहण पर्यटनको शुभारम्भको दिनका रूपमा रहेको यस अवसरमा आज विविध कार्यक्रम गरी दिवस मनाइँदै छ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार, हिमाललाई विश्वभर चिनाउन र पर्वतारोहण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो। यसैक्रममा कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुकतर्फको आधार शिविर क्षेत्रमा दौड प्रतियोगिता तथा लमजुङको दोर्दी गाउँपालिकामा नयाँ पदमार्ग प्रवर्द्धनका लागि अन्नपूर्ण आरोहण दिवस कार्यक्रम आयोजना गरिएको छ।
यसैबीच, आधार शिविरदेखि नारच्याङसम्म ३६ किलोमिटर दूरीमा हुने खुला दौड प्रतियोगितामा २० जना सहभागी छन्। प्रतियोगिताका विजेतालाई एक लाख, उपविजेतालाई ६० हजार, तेस्रोलाई ३५ हजार र सान्त्वना स्थान हासिल गर्ने तीन जनालाई जनही १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको वडाध्यक्ष लोकबहादुर फगामीले जानकारी दिए। नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा दौड आयोजना भएको हो।
पर्यटन विभागका अनुसार, अघिल्लो वर्षसम्म ५३६ जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्न यस वर्षको वसन्त याममा चार समूहका २७ जनाले अनुमति लिएका थिए। सफल आरोहणको विवरण भने अद्यावधिक भइरहेको विभागकी शाखा अधिकृत शर्मीला बञ्जाडेले बताइन्। दौड प्रतियोगितापश्चात आजै नारच्याङमा सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा दिवसको समापन समारोह आयोजना गरिने छ।





