गुम्बा उद्घाटनका लागि नेपाल आइन् कर्मापाकी दिदी

१७औँ कर्मापाकी दिदी तथा अमेरिकी नागरिक तारा सिद्धी (पाल्जोम लामा) गत जेठको पहिलो हप्ता नेपाल आएको स्रोतले जनाएको छ। स्वयम्भू र बौद्ध क्षेत्रमा बसोबास गर्ने तिब्बती शरणार्थीहरूबीचको द्वन्द्व र असहमति समाधान गर्न उनी आउन लागेको चर्चा चले पनि उनको भ्रमणको प्रयोजन फरक रहेको तथ्य खुलेको छ।

उनी नागार्जुन नगरपालिकाको हलचोक डाँडामा अवस्थित तेरगार ओशेल लिङ गुम्बाको पुनर्निर्मित भवनको रब्ने (अभिषेक तथा उद्घाटन) कार्यक्रममा सहभागी हुन आएकी थिइन्। गुम्बाको उद्घाटन जेठ १७ गते आइतबार भए पनि पूजापाठ २१ गतेसम्म सञ्चालन हुने बताइएको छ। उक्त गुम्बामा याङ्गे मिङ्ग्युर रिम्पोछे र ताई सितु रिम्पोछेलगायत उच्च बौद्ध धर्मगुरुहरूले धार्मिक शान्तिपाठ र अनुष्ठान गरेका थिए। यसअघि गत वर्ष पनि तारा पेचेन गुम्बामा भएको पूजामा सहभागी हुन उनी जेठ ६ गते नेपाल आएर असार १३ गते फर्केकी थिइन्।
यसैबीच, तिब्बती निर्वासित सरकार प्रमुख (सिक्योङ) मा पेन्पा छिरिङ पुनः निर्वाचित भएका छन्। उनले दोस्रो कार्यकालका लागि जेठ १३ गते भारतको धर्मशालामा दलाई लामाको उपस्थितिमा शपथ ग्रहण गरेका हुन्। १८औँ तिब्बती संसद्का निर्वाचित सदस्यहरूले आइतबार शपथ लिएका थिए भने सभामुख र उपसभामुखले सोमबार शपथ लिएका छन्।

नेपालका लागि दलाई लामाको नयाँ प्रतिनिधि छनोट हुन भने अझै केही समय लाग्ने देखिएको छ। यसअघिका प्रतिनिधि छावाङ छोकडुप शेर्पा (टुल्कु कालु नवाङ) नक्कली नेपाली नागरिकता बनाएको आरोपमा जेन्जी आन्दोलनपछि पक्राउको डरले भारत पलायन भएपछि उक्त पद रिक्त छ। हाल कर्मा ग्याल्जेनले निमित्तको जिम्मेवारी सम्हाल्दै आएका छन्।
काठमाडौंको बौद्ध क्षेत्रका आधा दर्जन गुम्बासँग आबद्ध ३०० भन्दा बढी तिब्बती शरणार्थीले निर्वाचनमा सहभागिता नगराइएको भन्दै विरोधस्वरूप धर्मशालामा गएर निवेदन दिएका थिए। तिब्बती छायाँ निर्वाचन आयोगविरुद्ध धर्मशालास्थित मानव अधिकार आयोगमा परेको उक्त निवेदनको सुनुवाइ गर्दै आयोगले निर्वाचन प्रक्रियाको पुनरावलोकन गर्न सुझाव दिएको थियो। त्यसपछि दलाई लामाका विशेष दूत गोप्य रूपमा काठमाडौं आएर अध्ययन गरी निर्वाचन निष्पक्ष भएको प्रतिवेदन बुझाएपछि विवाद सामसुम पारिएको जनाइएको छ।
यसैबीच, पछिल्लो समय नेपालभित्र भइरहेका चीनविरोधी र स्वतन्त्र तिब्बत समर्थनका गतिविधिबारे समाचार प्रकाशन नगर्न एउटा चिनियाँ पक्षले घुमाउरो भाषामा दबाब दिइरहेको बुझिएको छ।





