मोदीसँगको भेटलाई लामिछानेद्वारा ‘अत्यन्त उपयोगी र फलदायी’ भन्दै प्रशंसा, ‘विकास–कूटनीतिको नयाँ युग’ को दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तालाई ‘अत्यन्त उपयोगी र फलदायी’ भएको बताएका छन्। बुधबार दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा करिब एक घण्टा लामो वार्तापछि लामिछानेले सामाजिक सञ्जाल एक्समा मोदीको पोस्ट सेयर गर्दै नेपाल–भारत सम्बन्ध ‘विकास–कूटनीतिको नयाँ युग’ मा प्रवेश गर्ने विषयमा छलफल भएको उल्लेख गरेका छन्।
लामिछानेले नेपाल र भारतले विगतका सीमितता र अवरोधहरू पार गर्दै विकास, डिजिटल करिडोर र सहज कनेक्टिभिटीमा आधारित नयाँ सहकार्य अघि बढाउने मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको जनाएका छन्। उनले साझा सभ्यतागत सम्बन्ध, डिजिटल पूर्वाधार र आपसी विश्वासमा आधारित साझेदारीलाई भविष्यको जगका रूपमा प्रस्तुत गर्दै रास्वपा दुई देशका जनताको साझा समृद्धिका लागि ती सम्भावनालाई व्यवहारमा उतार्न इच्छुक रहेको बताए।
भेटबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत जानकारी दिँदै भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको छ। साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्छु र पूर्ण रूपमा समर्थन गर्दछु।’ ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिला) नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको उल्लेख गर्दै मोदीले दुवै देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको बताए।
भेटमा भारतीय पक्षबाट मोदीसँगै विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायत उच्चपदस्थ अधिकारी सहभागी थिए। नेपाली टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्यका साथै भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि सहभागी थिए।
लामिछानेले भेटबारे विस्तृत रूपमा नबताए पनि ‘विकास–कूटनीति’, ‘डिजिटल करिडोर’ र ‘साझा समृद्धि’ जस्ता शब्दावली प्रयोग गर्नु र एक घण्टासम्म छलफल हुनुलाई स्वयम् रास्वपाभित्रकै आन्तरिक राजनीतिक रूपमा पनि अर्थपूर्ण रहेको विश्लेषण गरिएको छ। भाजपा अध्यक्ष नितिन नवीनको निम्तोमा सोमबार नयाँदिल्ली पुगेका लामिछानेले मंगलबार भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित शीर्ष नेताहरू, भारतीय विदेशमन्त्री जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए। बिहीबार लामिछाने उत्तर प्रदेशस्थित राम जन्मभूमि अयोध्या जाने कार्यक्रम रहेको छ।





