‘पार्टीको शिर काटेर कुदाउने सोच नराख्नुस्’ : एमाले अध्यक्ष ओलीको नेतृत्व पुनर्गठनको मागप्रति कडा प्रतिवाद, कारबाहीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व पुनर्गठनको माग भइरहेका बेला कडा प्रतिवाद गर्दै पार्टी नेतृत्व र आधिकारिक निर्णयविरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने चेतावनी दिएका छन्।
आइतबारदेखि सुरु भएको दुई दिने कार्यशालामा उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र फरक मतलाई सम्मान गर्दै आन्तरिक एकता हुनुपर्ने माग गरेपछि ओली आक्रामक रूपमा प्रस्तुत भएका हुन्। केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष र सचिव, जिल्ला कमिटी अध्यक्ष र सचिव तथा संगठन विभागका प्रमुख सहभागी कार्यशालामा ओलीले आफ्नो विकल्प खोज्ने नेतालाई कारबाही गर्ने चेतावनी दिए। उनले २०८२ पुसमा आफू महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकाले बीचमै नेतृत्व नछाड्ने स्पष्ट पारे।
‘म गत पुसमा अध्यक्षमा छानिनुभएको थियो। सजिलो पर्यो भने प्रधानमन्त्री खानु, अप्ठ्यारो पर्यो भने झोला फ्याँकेर भाग्नु होइन। जस्तोसुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु भनेर अध्यक्ष छानेको हो,’ ओलीले भने, ‘आशंका हुन सक्छ, बीचमै झोला फ्याँकेर अलपत्र पारेर हिँड्छ कि भन्ने आशंका नलिनु होला। पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपरे विधिसम्मत तरिकाले लिने हुन्छ।’
ओलीले एमालेभित्र नेतृत्व हस्तान्तरणका लागि भएको हस्ताक्षर र पुनर्जागरण अभियानले पार्टीलाई अन्योलमा पारेको टिप्पणी गरे। ‘पार्टीको शिर काट्यो भने पार्टी कुद्छ भन्ने पार्टीमा कतिपयको सोच आयो,’ उनले भने, ‘चुनौतीलाई चिर्न समीक्षा गर्न कि अन्योलमा पर्न?’ उपाध्यक्ष पौडेलले बोलेलगत्तै उनले विधानको उल्लंघन गरे सह्य नहुने चेतावनी दिए। ‘एमाले फेरि उठ्छ। अहिले धक्का दिनेलाई फेरि धक्का दिएर अघि बढ्छ। विधि उल्लंघन गरे विधानबमोजिम कारबाही हुन्छ,’ उनको भनाइ थियो, ‘यस्तो परिस्थितिमा जे पनि गर्न टोलरेट हुन सक्दैन।’
उपाध्यक्ष पौडेलले कार्यशालामा एमालेले भिन्न विचारसहितको आन्तरिक एकता हुनुपर्ने बताउँदै ओलीप्रति संकेत गर्दै ‘सैनिक प्रवृत्तिको पार्टी’ का रूपमा एकता हुन नसक्ने तर्क गरेका थिए। ‘विविधतामा एकता हुनुपर्छ। एकरूपतामा एकता होइन। एकरूपतामा एकता खोज्ने दार्शनिक रूपमा पनि गलत छ,’ उनले भने, ‘प्रकृतिको बहुलता हाम्रो पार्टीमा हुनुपर्छ। व्यक्तिको विभिन्न विचारमा छलफल गरेर साझा निष्कर्षमा पुग्न सक्छौं।’
कार्यशालामा ओलीले साउनको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेको सन्दर्भमा उनलाई पार्टीमा सक्रिय बनाउने संकेत गरे। ‘कतिपय साथीहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता पाएको कुरा अहिले पनि उठाइरहनुभएको छ। अस्ति भर्खर आवेदन दिनुभयो, कमिटीले सदस्यता दियो,’ उनले भने, ‘राष्ट्रपति भएको बेला सदस्य हुनु भएन। उहाँ ०३७ सालदेखि पार्टी सदस्य हो। यसमा भ्रममा पर्नु हुँदैन।’





