राप्रपाको वैधानिकता सकिएको भन्दै राणाद्वारा नयाँ राष्ट्रवादी शक्ति निर्माणको अपिल

काठमाडौं । राप्रपाका केन्द्रीय सदस्य डा. धवलशम्शेर राणाले पार्टीको वैधानिकता समाप्त भएको दाबी गर्दै नयाँ राष्ट्रवादी शक्ति निर्माणको अभियानमा जुट्न सबै राष्ट्रवादी समूह, दल र अभियानकर्ताहरूमा अपिल गरेका छन्।
राणाले जेठ २० गते जारी गरेको ध्यानाकर्षण अपिलमा भनेका छन्, ‘केन्द्रीय कार्यसमितिले थप गरेको अतिरिक्त ६ महिनाको अवधि पनि हिजो जेठ १९ गते समाप्त भएको छ, पार्टीले वैधानिकता गुमाएको छ।’
उनले राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल गत मंसिरमा पूर्ण हुने र समयावधिभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने वैधानिक बाध्यताका कारण एक वर्षअघि उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा महाधिवेशन सुझाव समिति गठन भएको बताए। आफू पनि सदस्य रहेको उक्त समितिले मंसिर वा जेठभित्र महाधिवेशन गर्न सुझाव दिएको र सोहीअनुसार केन्द्रीय कार्यसमितिले ६ महिना समय थप गरेको उनले जानकारी दिए।
राणाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, ‘दर्जनौं पटक औपचारिक तथा अनौपचारिक बैठकहरूमा दिएका सुझाव र सल्लाहहरू कहिल्यै स्वीकार नगर्ने, वैधानिक निर्णय कार्यान्वयन नगर्ने पुरानै प्रवृत्ति ढाकछोप गर्न, मलाई महाधिवेशनको जिम्मा दिएको र जिम्मेवारीबाट पन्छिएको वा भागेको भन्ने प्रकारको दुष्प्रचारपूर्ण अभिव्यक्ति राप्रपा अध्यक्षबाट लिखित रूपमा आउनु हास्यास्पद छ।’
उनले नेतृत्वको गैरजिम्मेवार शैली र आत्मकेन्द्रित प्रवृत्तिका कारण गत चुनावमा पार्टीले आफ्नो साख मात्र नभई वैचारिक मूल्य मान्यता र सैद्धान्तिक आधारसमेत धरापमा परेको बताए। ‘जहाँ विश्वासको संकट हुन्छ, त्यहाँ लक्ष्यको मार्ग अवरुद्ध हुन्छ,’ उनले भने, ‘हाम्रा मूल्य र मान्यता स्थापित हुने सम्भावना क्षीण भएको अवस्थामा, अध्यक्षको विज्ञप्तिको भ्रममा नपरी सम्पूर्ण राष्ट्रवादी मन तथा शक्तिहरूको आपसी मेल र एकताबाट नयाँ राष्ट्रवादी शक्ति निर्माणको अभियानमा जुट्न सबैमा हार्दिक अपिल गर्दछु।’






