२१ जेष्ठ २०८३, बिहीबार

कर्जा दुरुपयोग आरोपमा जानकी मेडिकल कलेजका प्रमुख पाण्डे पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका प्रमुख ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ। सीआईबी टोलीले बुधबार उनलाई कलेज परिसरबाटै पक्राउ गरेको हो।

प्रहरीका अनुसार पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक शेल कम्पनी स्थापना गरी प्रभु बैंकबाट कर्जा लिएका थिए। अनुसन्धानका क्रममा कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै नभएको अवस्थामा धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गराई कर्जा स्वीकृत गराएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले पाण्डेले बैंकबाट लिएको कर्जा तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्यत्र लगानी गर्दै पटक–पटक दुरुपयोग गरेको आरोप लगाएको छ। काठमाडौं महानगरपालिका–९ रातोपुल निवासी पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष तथा उक्त कम्पनीका एकल सञ्चालक हुन्।

सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पाण्डेलाई पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button