कालीकोट–हुम्ला चट्टानी भीरमा सेनाको सडक निर्माण तीव्र

नेपाली सेनाको विकास निर्माण कार्य दलले कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्ला सडकखण्डको घाटा चौर–भुक्का खोला चट्टानी भीरमा ट्रयाक खोल्ने कार्य तीव्रता दिएको छ।
घाटा चौरदेखि बद्री गाउँ हुँदै भुक्का खोलासम्म ११.५ किलोमिटर सडकमध्ये ८ किलोमिटर ट्रयाक खोलिसकिएको सेनाका प्राविधिक सेनानी सुकप्रसाद थकालीले बताए। कुल ७३.९१ प्रतिशत काम सकिएको छ। सरकारले आव ०७८/०७९ मा यो सडकको जिम्मा सेनालाई दिएको थियो।
त्यस्तै, हुम्लाको दुल्ली कुलादेखि लालीवगर क्षेत्रको ११ किलोमिटर सडक निर्माणको जिम्मा पनि सेनालाई नै छ।
हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सेनाले घाटा चौर–भुक्का खोला सडकलाई तीव्रता दिएको हो। यस आवमा ५०० मिटर निर्माणको लक्ष्य पूरा भइसकेको छ। ८० देखि ७० प्रतिशत चट्टानी भीर विस्फोट गरी ट्रयाक खोलिएको हो। सडकको चौडाइ ५–६ मिटर छ।
बाँकी ३.५ किलोमिटर सडकका लागि सरकारसँग बजेट माग गरिएको छ। धेरैजसो चट्टानी भीर भएकाले विस्फोट गर्नुपर्नेछ। यो सडक पूरा भए एक घण्टा समय छोटिने सेनाको दाबी छ।





