२१ जेष्ठ २०८३, बिहीबार

‘हरित यात्रा’ : चक्रपथमा थप १६ विद्युतीय बस

काठमाडौँ – महानगर यातायात प्रालिले सार्वजनिक यातायातलाई थप स्वच्छ, आधुनिक र व्यवस्थित बनाउने अभियानअन्तर्गत १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। काठमाडौँ उपत्यकाको चक्रपथमा बुधबारदेखि यी बसले यात्रु सेवा सुरु गरेका हुन्।

नयाँ बसमा यात्रुका लागि आरामदायी सिट, आधुनिक सुरक्षा प्रणाली तथा व्यवस्थित संरचनालाई प्राथमिकता दिइएको छ। ३३ सिट क्षमता रहेका यी बस डिजेल सवारीको तुलनामा कम सञ्चालन खर्च र सरल प्राविधिकका कारण व्यावसायिक रूपमा समेत प्रभावकारी रहेको महानगर यातायातले जनाएको छ।

शशिला मोटर्स प्रालिले चीनबाट आयात गरेको उक्त बसमा १४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको छ। एक पटक पूर्ण चार्ज गरेपछि करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता यी बसमा रहेको कम्पनीको दाबी छ। प्रत्येक बसको मूल्य एक करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ।

सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारीको विकल्प अब अनिवार्य बन्दै गएको बताउँदै कम्पनीले यस क्षेत्रमा थप लगानी विस्तार गर्ने योजना सुनाए। प्रारम्भिक लगानी उच्च भए पनि दीर्घकालीन रूपमा यो व्यवसायिक रूपमा उपयुक्त र आम्दानीका दृष्टिले प्रभावकारी रहेको उनको भनाइ छ।

प्रालिका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि नै १२ विद्युतीय बस सफलतापूर्वक सञ्चालन भइसकेको र पछिल्लो चरणमा थपिएकाले अब २८ वटा विद्युतीय बस सञ्जालमा थपिएको जानकारी दिए।

शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले ठूलो आकारका विद्युतीय बसको प्रवद्र्धन आजको आवश्यकता भएको बताउँदै यी बसले व्यवसायी र यात्रु मात्र नभई देशको समग्र यातायात प्रणाली सुधारमा टेवा पु¥याउने विश्वास व्यक्त गरे। कम्पनीले बिक्रीपछिको सेवा प्रणालीलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

महानगर यातायात प्रालिले हाल काठमाडौँ उपत्यकासहित अन्य स्थानमा गरी कुल १४० भन्दा बढी सवारी साधनमार्फत सेवा दिइरहेको छ। यसमा २८ सिटे बस र २४ माइक्रोबस गरी ५२ विद्युतीय सवारी सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button