रोल्पामा खहरे खोलाको भेलमा बगेर दुई बालकको मृत्यु

रोल्पा – रोल्पामा वर्षासँगै आएको खहरे खोलाको भेलमा बगेर दुई जना बालकको ज्यान गएको छ। विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको तीव्र बहावले उनीहरूलाई बगाएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार गंगादेव गाउँपालिका–६ रातामाटाका निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसीको ज्यान गएको छ।
आज बेलुका विद्यालयबाट घर फर्किने क्रममा स्थानीय खहरे खोला तर्न खोज्दा उनीहरू अचानक आएको भेलमा परेका थिए। खोलाले बगाएपछि बेपत्ता भएका बालकहरूको स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले खोजी गरेको थियो।
खोजतलासका क्रममा घटनास्थलबाट करिब १५० मिटर तल दुवै बालकको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक दुवै बालक बुद्धि विकास माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी रहेको पनि प्रहरीले जनाएको छ।





