२१ जेष्ठ २०८३, बिहीबार

माया र उमा गुरुङको मौलिक गीतको लय ‘चोरी’ भएको आरोप, प्रतिष्ठानमा उजुरी

काठमाडौँ – अग्रज लोकगायिका माया गुरुङ र उमा गुरुङले आफ्नो मौलिक सिर्जनाको लय हुबहु नक्कल गरी नयाँ गीत सार्वजनिक गरेको आरोप लगाउँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालमा उजुरी दिएका छन्। गायिकाद्वयले प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरलाई सम्बोधन गर्दै दर्ता गराएको निवेदनमा आफ्नो पुरानो गीत ‘आइदेउ सुखी, लाइदेउ पिरती’ को लय नक्कल गरेर ‘सुखी माया’ शीर्षकमा गीत सार्वजनिक गरिएको दाबी गरेका छन्।

माया र उमाका अनुसार उक्त मौलिक गीत २०४५/०४६ सालतिर बजारमा आएको ‘लमजुङ दरबार’ एल्बमको ‘बी साइड’ मा समावेश छ। गीतमा माया गुरुङ, उमा गुरुङ, कृष्ण गुरुङ र निर गुरुङको आवाज छ। यो गीत रेडियो नेपालबाट समेत प्रसारण भएको थियो। उक्त गीत ९ महिनाअघिमात्रै मायाकी छोरी संगीताले उनीसहित कार्यक्रम इन्द्रेणीमा गाएकी छन्।

उनीहरू २०४५ सालमा रेडियो नेपालद्वारा आयोजित अञ्चलव्यापी लोकगीत प्रतियोगितामा प्रथम भई स्वर्ण पदक जितेको ‘गाउँसहरमा लमजुङ दरबार’ गीतमार्फत स्थापित कलाकार हुन्। उक्त सालमै युक्त गुरुङसहित माया गुरुङ र उमा गुरुङले ‘आइदेउ सुखी, लाइदेउ पिरती’ गीत रेकर्ड गरेको उनीहरूले बताए। युक्त गुरुङको एक दशकअघि निधन भइसकेको छ।

गायिकाद्वयले आफ्नो मौलिक सिर्जना अनुमतिबिना नक्कल गरी सार्वजनिक गरिएको आरोप लगाउँदै बुधबार निवेदनसहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालसमक्ष न्यायको माग गरेका हुन्। निवेदनअनुसार रेडियो नेपालमा समेत प्रसारण भएको उक्त गीतको मौलिक लय र संरचनालाई आधार बनाएर प्रतिष्ठानका केन्द्रीय प्रथम उपाध्यक्षसमेत रहेका रामजी खाँडको लय रहेको भन्दै प्रतिष्ठानका पूर्वकेन्द्रीय सदस्य राज गुरुङले आफ्नो युट्युब च्यानलमार्फत ‘सुखी माया’ शीर्षकको गीत सार्वजनिक गरेकामा गायिकाद्वयले दुःख लागेको बताए।

‘सुखी माया’ मा रामजी खाँडको लय, भागीरथ चलाउनेको शब्द तथा राजु गुरुङ र शान्तारानी परियारको स्वर रहेको छ। निवेदकहरूले उक्त गीतमा आफ्नो सिर्जनाको भाका, लय तथा शैली प्रत्यक्ष रूपमा नक्कल गरिएको आरोप लगाउँदै छानबिन गरी न्याय दिलाउन प्रतिष्ठानसँग माग गरेका छन्। निवेदनको बोधार्थ प्रतिष्ठानको विकृति–विसंगति न्यूनीकरण विभागका प्रमुख शिव हमाललाई दिइएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले निवेदन प्राप्त भइसकेको पुष्टि गर्दै दुवै पक्षलाई राखेर छलफल गरिने बताइन्। ‘निवेदन संस्थामा दर्ता भइसकेको छ। अब सम्बन्धित पक्षहरूसँग छलफल गरेर आवश्यक छानबिन गरिन्छ र त्यसपछि निष्कर्षमा पुगिन्छ,’ उनले भनिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button