राष्ट्रपति रनिङ सिल्डको उद्घाटन : अविनाश र भगवतीले गरे कीर्तिमान कायम

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको बुधबार दशरथ रंगशालामा आयोजित कार्यक्रमबीच उद्घाटन गरेका छन्। राष्ट्रपति पौडेलले ओलम्पिक टर्च प्रज्ज्वलन गरी प्रतियोगिताको उद्घाटन गरे। राष्ट्रपतिले उक्त टर्च ब्याडमिन्टनका ओलम्पियन खेलाडी प्रिन्स दाहाललाई हस्तान्तरण गरे। प्रिन्ससहित ओलम्पियन एथलेटिक्सकी सरस्वती भट्टराई, भारोत्तोलनका कमलबहादुर अधिकारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पालैपालो टर्च बोकेर ट्र्याक परिक्रमा गरेका थिए।


राष्ट्रपति पौडेलले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको भावना र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताए। राष्ट्रपतिले वर्तमान युगमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, प्रख्याति र पहिचानका लागि मात्र सीमित नभएको स्पष्ट पारे।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय तहदेखि नै खेलकुदको जग बलियो बनाउने उद्देश्यबाट प्रतियोगिता हुँदै आएको स्मरण गराउँदै विद्यालय स्तरमा लुकेर रहेका प्रतिभालाई पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बनाउने ठूलो र महत्वपूर्ण माध्यम राष्ट्रपति रनिङ सिल्ड भएको बताए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले नगर, जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म आइपुग्दा यस प्रतियोगिताले देशको कुनाकाप्चामा रहेका प्रतिभावान युवालाई खेलकुदको मूल प्रवाहमा जोड्ने काम गरेको बताए। प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले कुल ६ सय ८६ खेलाडी सहभागी छन्। विभिन्न ६ खेल समावेश प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २–२ तथा कराते, तेक्वान्दो र उसुमा १२–१२ विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको १७ औं संस्करण कोशी प्रदेशमा फागुन १९ देखि २२ सम्म हुने भएको छ। राष्ट्रपति पौडेलले प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई झण्डा हस्तान्तरण गरे।
अविनाश र भगवतीले गरे कीर्तिमान कायम
अविनाश सुनार र भगवती खड्काले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्सतर्फ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अविनाशले छात्र हाइजम्प र भगवतीले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाए। दुवै बागमती प्रदेशका खेलाडी हुन्।
अविनाशले १.८६ मिटर जम्प गर्दै आफ्नै नामको १.८२ मिटरको कीर्तिमान सुधारे। १.८२ को कीर्तिमान अविनाशले गत साता बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्डमा बनाएका थिए। कोशीका टंक यादव दोस्रो र गण्डकीका सनुन चौधरी तेस्रो भए। सोही विधाको छात्रामा गण्डकीकी आराध्या चालिसे र सुदूरपश्चिमकी सुनीता पार्की संयुक्त विजेता भए। दुवैले १.४३ मिटर उचाइ नाघे। कोशीकी सुस्मिता बस्नेत तेस्रो भइन्।
छात्रा ४०० मिटर दौडमा भगवतीले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन्। यसअघि १ मिनेट ०१.१९ सेकेन्डको कीर्तिमान सुदूरपश्चिमकी संगीता बिकको नाममा थियो। फाइनलमा भने भगवतीले ५९.११ सेकेन्डबाट स्वर्ण जितिन्। बागमतीकै अनिशा थारु दोस्रो र लुम्बिनीकी रोशनी कामी तेस्रो भए।
सोही स्पर्धाको छात्रमा बागमतीका नीरज शाह विजेता भए। उनले ५०.९४ सेकेन्डमा दूरी पार गरे। गण्डकीका अतित थापा दोस्रो र गण्डकीकै अंकित रानाभाट तेस्रो भए। छात्र १०० मिटर दौडमा बागमतीका प्रविन रानाले स्वर्ण जिते। उनले १०.४६ सेकेन्डमा दूरी तय गरे। सुदूरपश्चिमका सुरेश चौधरीले रजत र लुम्बिनीका भगवानदास लोहारले कांस्य जिते। छात्रामा लुम्बिनीकी गरिमा चौधरी १३.५० सेकेन्डबाट स्वर्ण जितिन्। लुम्बिनीकै आशिका चौधरीले रजत र बागमतीकी सुरुचि मोक्तानले कांस्य जिते।
छात्र १५ सय मिटर दौड ४ मिनेट १३.७ सेकेन्डमा पूरा गर्दै बागमतीका हस्त सुनार विजेता भए। लुम्बिनीका अरविन्द्रकुमार यादव दोस्रो र कर्णालीका अनिल शाही तेस्रो बने। सोही विधाको छात्रामा सुदूरपश्चिमकी अस्मिता धानुकले ५ मिनेट १३.९ सेकेन्डबाट स्वर्ण जितिन्। लुम्बिनीकी अञ्जुली मल्लले रजत र बागमतीकी शर्मिला बिकले कांस्य जिते।
सटपुट (सटपुट) को छात्रमा बागमतीका महेन्द्र केसीले १३.४० मिटर थ्रो गरी स्वर्ण जिते। लुम्बिनीका राजन भण्डारीले रजत र कर्णालीका अनन्त बिकले कांस्य जिते। सुदूरपश्चिमकी पूजा साउदले छात्रामा ९.६० मिटर थ्रो गरेर स्वर्ण जितिन्। बागमतीकी मनमाया थिङले रजत र बागमतीकी अप्सरा श्रेष्ठले कांस्य जिते।





