२१ जेष्ठ २०८३, बिहीबार

छुवाछूत अन्त्यमा सामाजिक चेतना अपरिहार्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले आज जारी गरेको शुभकामना सन्देशमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको कामना गर्दै यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धनका लागि थप प्रतिबद्ध बन्न प्रेरणा दिने बताएका छन्।

उनले विभेदहीन, समावेशी र सभ्य समाज निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाइँदै आएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गरेका छन्। संविधानले विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण तथा प्रवर्द्धन गर्दै सबै प्रकारका विभेद अन्त्य गर्ने लक्ष्य लिएको उनले बताएका छन्।

सन्देशमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायत सबै प्रकारका विभेद अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संवैधानिक सङ्कल्प स्मरण गरिएको छ।

राष्ट्रपति पौडेलले जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने बताएका छन्। त्यसका लागि समाजका सबै तह र वर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य रहेको उनको भनाइ छ।

उनले जातीय विभेदलाई सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराधका रूपमा उल्लेख गर्दै सामाजिक जागरण र समभावको विकासमा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति पौडेलले सबै जातजाति र समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गर्न आग्रह गरेका छन्। उनले समतासहितको राष्ट्रिय एकता सुदृढ बनाउन तथा जातीय छुवाछूत र विभेदविरुद्ध दृढतापूर्वक उभिन सम्पूर्ण व्यक्ति, परिवार, समाज, तीनै तहका सरकारी निकाय, राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाज र सञ्चारकर्मीलाई आह्वान गरेका छन्।

दिवसले विविधताभित्रको एकतालाई थप सुदृढ बनाउँदै समतामूलक, सभ्य र समावेशी समाज निर्माणमा सबै नेपालीलाई जिम्मेवार बन्न पुनः स्मरण गराएको राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button