परराष्ट्रमन्त्री खनाल दिल्ली जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी शनिबार तीनदिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा हुन लागेको यो भ्रमण परराष्ट्रमन्त्रीका रूपमा खनालको पहिलो औपचारिक विदेश भ्रमण हुनेछ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा खनालले भारतीय समकक्षी जयशंकरसहित भारत सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि पनि नेपाली पक्षले अनुरोध पठाएको जनाइएको छ।
यसअघि परराष्ट्रमन्त्री खनाल मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए। सो अवसरमा उनले भारतीय विदेशमन्त्री जयशंकर र अन्य नेताहरूसँग भेटवार्ता गरेका थिए। मौरिससमा भएको भेटमा बदलिँदो क्षेत्रीय परिस्थितिमा नेपाल–भारत सम्बन्धलाई अघि बढाउने विषयमा छलफल भएको थियो। त्यस क्रममा नेपालको नयाँ सरकारका प्राथमिकताबारे काठमाडौंमा विस्तृत छलफल गर्ने सहमति भएको बताइएको थियो।
भारतीय विदेशमन्त्री जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिस्रीलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए। तर प्रधानमन्त्री वालेन्द्र शाहले प्रोटोकलको कारण देखाउँदै भेट्न नसक्ने भएपछि मिस्रीको प्रस्तावित काठमाडौं भ्रमण स्थगित भएको जनाइएको छ।
यहीबीचमा भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सुरु गर्ने निर्णय गरेपछि नेपालमा सीमा विषय फेरि बहसमा आएको छ। यस्तो पृष्ठभूमिमा हुन लागेको खनालको दिल्ली भ्रमणलाई द्विपक्षीय सम्बन्धमा देखिएको अविश्वास कम गर्ने प्रयासका रूपमा हेरिएको छ।
परराष्ट्रमन्त्री खनाललाई यसअघि पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो। तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि जुन १ का लागि निर्धारित उक्त सम्मेलन स्थगित भएको थियो।
दिल्ली भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल र अन्य उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको स्रोतहरूले जनाएका छन्। खनालको भ्रमणका क्रममा जयशंकरको सम्भावित काठमाडौं भ्रमण तथा दुवै पक्षबाट हुन सक्ने उच्चस्तरीय भ्रमणबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणअघि खनालले विभिन्न मन्त्रालयसँग छलफल गरी भारतीय सहयोगमा सञ्चालित आयोजनाहरूको अवस्था, नेपालका प्राथमिकता र द्विपक्षीय एजेन्डाबारे जानकारी लिएका छन्। दिल्लीमा कनेक्टिभिटी, सीमा विवाद, पूर्वाधार, व्यापार, पारवहन, ऊर्जा र हवाई सम्पर्कलगायत विषयमा छलफल हुने तयारी छ।
दुई पक्षबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व–पश्चिम रेलमार्ग, जनकपुर–अयोध्या रेल सम्पर्क, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान सञ्चालन, व्यापार र पारवहनसम्बन्धी विषयमा कुराकानी हुने जनाइएको छ।
वाणिज्यमन्त्री गोयलसँगको सम्भावित भेटमा पेट्रोलियम पाइपलाइन विस्तार, नेपालमा चिनी निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषय तथा भारतमा नेपाली नागरिकले भुक्तानीका लागि क्यूआर प्रणाली प्रयोग गर्न सक्ने व्यवस्था कार्यान्वयनबारे छलफल हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको दिल्ली भ्रमण हुन लागेको हो। पछिल्लो राजनीतिक तथा कूटनीतिक परिस्थितिका कारण यो भ्रमणलाई नेपाल–भारत सम्बन्धको आगामी दिशा, उच्चस्तरीय संवाद र आपसी विश्वास पुनर्स्थापनाका दृष्टिले अर्थपूर्ण मानिएको छ।





