२१ जेष्ठ २०८३, बिहीबार

लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज सर्वोत्कृष्ट

चितवन । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज, सिएमसी, देशकै सर्वोत्कृष्ट कलेज बनेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले यस वर्ष एमबिबिएसतर्फ ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै पहिलो स्थान हासिल गरेको हो।

जेठ १२ देखि १५ गतेसम्म सञ्चालन भएको परीक्षामा सिएमसीबाट एमबिबिएस तह पूरा गरेका ५८ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ५४ जना विद्यार्थी उत्तीर्ण भएका छन्। काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार एमबिबिएसतर्फ देशभरको समग्र उत्तीर्ण दर ६३.५० प्रतिशत रहेको छ भने बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी सफल भएका छन्।

उत्कृष्ट नतिजा ल्याउने कलेजहरूको सूचीमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो स्थानमा रहेको छ। प्रतिष्ठानबाट सहभागी ७७ विद्यार्थीमध्ये ७१ जना उत्तीर्ण भएका छन्, जसको उत्तीर्ण दर ९२.२१ प्रतिशत हो। त्यस्तै, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान ८९.७७ प्रतिशत उत्तीर्ण दरसहित तेस्रो स्थानमा रहेको छ। उक्त संस्थानबाट सहभागी ८८ विद्यार्थीमध्ये ७९ जना सफल भएका छन्।

स्वदेशी मेडिकल कलेजहरूको नतिजा तुलनात्मक रूपमा उत्साहजनक देखिए पनि विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी फर्किएका नेपाली विद्यार्थीहरूको नतिजा कमजोर देखिएको छ। विवरणअनुसार भारतमा अध्ययन गरेका ४२.३१ प्रतिशत, बङ्गलादेशमा अध्ययन गरेका ४१.१४ प्रतिशत, फिलिपिन्समा अध्ययन गरेका २८.५७ प्रतिशत र चीनमा अध्ययन गरेका १५.०४ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। इजिप्ट र रसियाबाट अध्ययन गरी आएका विद्यार्थीहरू यस पटक उत्तीर्ण हुन नसकेको जनाइएको छ।

सिएमसीका उपनिर्देशक अरुण कोइरालाले मेडिकल काउन्सिलको लाइसेन्स परीक्षालाई चिकित्सा शिक्षाको गुणस्तर मापन गर्ने महत्वपूर्ण आधारका रूपमा लिइने बताए। उनले कलेजको कुशल व्यवस्थापन, शिक्षक तथा कर्मचारीको निरन्तर मेहनत र विद्यार्थीको लगनशीलताका कारण उत्कृष्ट नतिजा प्राप्त भएको उल्लेख गरे। आगामी दिनमा अझ राम्रो नतिजा ल्याउँदै सिएमसीलाई स्वदेशी तथा विदेशी विद्यार्थीको पहिलो रोजाइ बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले शैक्षिक गुणस्तरमा सम्झौता नगर्ने नीतिका कारण कलेजले सफलता हासिल गरेको बताए। उनका अनुसार शिक्षण अस्पतालमा बिरामीको उच्च चाप, प्रयोगात्मक सिकाइमा दिइएको प्राथमिकता र अनुशासित शैक्षिक वातावरणले विद्यार्थीलाई व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुर्‍याएको छ।

हाल चितवन मेडिकल कलेजमा करिब एक हजार ४०० विद्यार्थी अध्ययनरत छन्। कलेजमा स्नातक तहअन्तर्गत एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफरी, पब्लिक हेल्थ, फार्मेसी, बिएस्सी एमएलटी र बिएस्सी एमआइटी कार्यक्रम सञ्चालनमा छन्। साथै, स्नातकोत्तर तहमा एमडी, एमएस, एमएन, एमपिएच, एमएस्सी माइक्रोबायोलोजी तथा विशिष्टीकृत तहमा एमडी र एमसिएच कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन्।

लाइसेन्स परीक्षामा प्राप्त यो नतिजाले चितवन मेडिकल कलेजको शैक्षिक व्यवस्थापन, व्यावहारिक शिक्षण पद्धति र विद्यार्थीको तयारीलाई बलियो रूपमा उजागर गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button