‘बालबालिकालाई मोबाइलको लत छुटाउन अभिभावक आफैं पहिले सच्चिनुपर्छ’ : शिक्षाविदको सुझाव

काठमाडौं । पछिल्लो समय बालबालिका तथा किशोरकिशोरीमा स्मार्टफोन तथा डिजिटल उपकरणको लत बढ्दै गएको विषयले व्यापक चिन्ता र बहस उत्पन्न गरेको छ। यसै सन्दर्भमा ल्हासास्थित पाँचौं माध्यमिक विद्यालयका वरिष्ठ शिक्षक वोसेरले बालबालिकामा देखिएको मोबाइलको लत र यसको समाधानबारे महत्त्वपूर्ण धारणा राखेका छन्।
शिक्षक वोसेरका अनुसार विद्यालयका अधिकांश विद्यार्थीले विभिन्न डिजिटल प्लेटफर्म सहजै चलाउन सक्छन् र खाली समयको ठूलो हिस्सा मोबाइलमा बिताउँछन्। उनले विशेष गरी ‘टिकटक’ जस्ता प्लेटफर्ममा पर्याप्त नियमन र नियन्त्रणको व्यवस्था नहुँदा कम उमेरका बालबालिका त्यसमा डुब्नु गम्भीर चिन्ताको विषय भएको बताए। ‘कम उमेरका बालबालिकाको मूल्य–मान्यता र विश्वदृष्टिकोण बनिरहेको अवस्थामा उनीहरूको सोचाइ सजिलै प्रभावित हुन सक्छ,’ उनले भने।
पढाइ र स्वास्थ्यमा गम्भीर असर
शिक्षक वोसेरले मोबाइलको लतले विद्यार्थीको नियमित पढाइ र जीवनशैलीमा पारेको नकारात्मक प्रभावबारे चिन्ता व्यक्त गरे। ‘कतिपय विद्यार्थी राति अबेरसम्म मोबाइलमा झुन्डिएर बस्छन्, जसले गर्दा दिनको कक्षामा ध्यान केन्द्रित गर्न सक्दैनन्। मोबाइल हेर्ने बानी विद्यार्थीको दैनन्दिनको हिस्सा बनिसकेको छ, खाली समय पाउनेबित्तिकै स्वतः पुस्तक पढ्ने, व्यायाम गर्ने वा मनन गर्ने प्रवृत्ति हराउँदै गएको छ,’ उनले बताए।
उनले साताको दुई दिनको विश्रामको वैज्ञानिक महत्त्व रहे पनि अधिकांश विद्यार्थीले त्यस समयमा राम्रोसँग आराम नगरी मोबाइलमै बिताउँदा विद्यालय फर्किंदा थकित र निरुत्साहित देखिने गरेको उल्लेख गरे। ‘आराम भनेको अझ राम्रोसँग सुरुवात गर्नका लागि हो, तर विद्यार्थीले आरामको समयमा पनि मोबाइलमा झुन्डिँदा उचित आराम नपाउने र त्यसले पूरै साताको पढाइमा असर पार्ने अवस्था छ,’ उनले भने।
पढाइमा एकाग्रता ह्रास
मोबाइलको लतले कक्षाकोठामा समेत गम्भीर असर पारेको शिक्षक वोसेरको अनुभव छ। ‘पहिले विद्यार्थी लामो समयसम्म ध्यान दिएर कक्षा सुन्न सक्थे, तर अहिले धेरै विद्यार्थी केही बेर सुनेपछि ध्यान भड्किने र कतिपय त निदाउनेसम्मको अवस्था देखिन्छ। यो छोटा भिडियोको तीव्र गतिको स्क्रिनमा बानी परेको परिणाम हुन सक्छ,’ उनले भने। उनले आवासीय र अनावासीय विद्यार्थीबीचको तुलना गर्दै आवासीय विद्यार्थीको पढाइ तुलनात्मक रूपमा राम्रो रहनुमा मोबाइलको नियन्त्रित प्रयोग प्रमुख कारण हुन सक्ने अनुमान गरे।
लतको मनोवैज्ञानिक कारण
बालबालिकामा मोबाइलको लत बढ्नुको पछाडि वास्तविक जीवनमा पढाइको चाप र नतिजाले दिएको निराशा प्रमुख कारण रहेको शिक्षक वोसेरको विश्लेषण छ। ‘डिजिटल गेममा उनीहरू ‘राजा’ कहलिन्छन्, सामाजिक सञ्जालमा प्रशस्त प्रशंसा पाउँछन्, जसले आत्मसम्मानको अनुभूति दिन्छ,’ उनले भने। साथै, अहिलेको विद्यार्थी समुदायमा छलफलका अधिकांश विषय मोबाइलकै वरिपरि घुम्ने भएकाले मोबाइल नचलाउने विद्यार्थी सामाजिक रूपमा एक्लिने जोखिम रहने उनको भनाइ छ।
अभिभावकको भूमिका महत्त्वपूर्ण
शिक्षक वोसेरले बालबालिकाको मोबाइल लतको मूल जरो पारिवारिक शिक्षामा रहेको औंल्याए। ‘कतिपय अभिभावकले बालबालिकालाई पर्याप्त ध्यान दिँदैनन्, कोही अभिभावकले आफ्नो धारणा बाहेक अरू सबै गलत भन्ने अडान राख्छन्, त कोही आफैं काममा व्यस्त भएर बच्चालाई मोबाइल थमाएर आफ्नो सहजता खोज्छन्,’ उनले भने, ‘बालबालिकामा देखिएको यो समस्या बाहिरी रूपमा बानीको समस्याजस्तो देखिए पनि वास्तवमा यो मनोवैज्ञानिक, शैक्षिक र वैचारिक समस्या हो।’
उनले अभिभावकलाई सुझाव दिँदै भने, ‘पहिलो, आमाबुबा र बच्चाबीचको सम्बन्ध नै शिक्षाभन्दा महत्त्वपूर्ण हो। गाली गरेर वा जबरजस्ती खोसेर समस्या समाधान हुँदैन, बरु बच्चाले आफ्नो मनको कुरा अभिभावकलाई भन्न सक्ने र अभिभावकले बच्चाको कुरा सुन्न सक्ने सम्बन्ध बनाउनुपर्छ। दोस्रो, अभिभावक आफैं मोबाइलमा नझुन्डिनु नै बच्चाको व्यवहार परिवर्तनको पहिलो पाइला हो। तेस्रो, बच्चाको खाली समयलाई सदुपयोग गर्न पदयात्रा, संग्रहालय भ्रमण, खेलकुदजस्ता गतिविधिमा सँगै सहभागी भएर वास्तविक संसार मोबाइलको पर्दाभन्दा कैयौं गुणा रोचक छ भन्ने अनुभूति गराउनुपर्छ।’





