आधारभूत शिक्षा बलियो बनाउन चीनको जोड

बेइजिङ । चिनियाँ उपप्रधानमन्त्री डिङ सुएस्याङले आधारभूत शिक्षाको उच्च गुणस्तरीय विकासलाई थप गहिरो बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। दक्षिण–पश्चिम चीनको युनान प्रान्तमा हालै गरिएको निरीक्षण भ्रमणका क्रममा उनले शिक्षा क्षेत्रमा गुणस्तर, समान पहुँच र शिक्षक तयारीलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो स्थायी समितिका सदस्यसमेत रहेका डिङले सोमबार र मंगलबार युनान प्रान्तको भ्रमण गरेका थिए।
वेनशान चुआङ तथा मियाओ स्वायत्त प्रिफेक्चरमा उनले बालविकास केन्द्र, प्राथमिक विद्यालय र माध्यमिक विद्यालयको निरीक्षण गरे। सो क्रममा उनले चीनलाई शिक्षा क्षेत्रमा अग्रणी मुलुक बनाउने लक्ष्य आधारभूत शिक्षालाई बलियो बनाउने कार्यबाट सुरु हुने बताए।

मुख्यतः जातीय अल्पसङ्ख्यक समुदायको बसोबास रहेको सीमावर्ती प्रान्तका रूपमा युनानले शिक्षाको गुणस्तर सुधारका लागि समग्र प्रयास गर्नुपर्ने डिङको भनाइ थियो। उनले साना ग्रामीण विद्यालयले भोगिरहेका समस्या, ग्रामीण क्षेत्रमा अभिभावकबाट टाढा रहेका बालबालिकाको शैक्षिक चुनौती र सबै जातीय समुदायलाई सन्तुष्ट बनाउने शिक्षा प्रदान गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताए।
डिङले युनानमा आइतबारदेखि सुरु हुने राष्ट्रिय कलेज प्रवेश परीक्षाको तयारीलाई उच्च जिम्मेवारीका साथ अघि बढाउन पनि निर्देशन दिए। उनले परीक्षा सञ्चालनमा कुनै त्रुटि नहोस् भन्नका लागि सूक्ष्म, व्यापक र व्यवस्थित तयारी आवश्यक रहेको बताए।
युनान नर्मल विश्वविद्यालयमा डिङले आधारभूत शिक्षाका लागि शिक्षक तयारीको अवस्थाबारे जानकारी लिए। उनले शिक्षक उत्पादन गर्ने संस्थाहरूले शिक्षक शिक्षालाई आफ्नो मुख्य जिम्मेवारीका रूपमा लिनुपर्ने बताए।
डिङले शिक्षक प्रशिक्षण पद्धतिमा सुधार गहिर्याउँदै उच्च गुणस्तरीय शिक्षक जनशक्ति निरन्तर उपलब्ध गराउन नर्मल विश्वविद्यालय तथा शिक्षक शिक्षण संस्थाहरूलाई आग्रह गरे।
उनका अनुसार आधारभूत शिक्षाको गुणस्तर सुधार, ग्रामीण तथा सीमावर्ती क्षेत्रका बालबालिकाको शैक्षिक अवसर विस्तार र दक्ष शिक्षक उत्पादन चीनको दीर्घकालीन शैक्षिक विकासका लागि महत्वपूर्ण आधार हुन्।





