बङ्गलादेशका रहमान राष्ट्रसङ्घ महासभाको अध्यक्षमा निर्वाचित

बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमान संयुक्त राष्ट्रसङ्घ महासभाको ८१औँ अधिवेशनको अध्यक्षमा निर्वाचित भएका छन्। जुन २ मा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा भएको गोप्य मतदानबाट उनी आगामी अधिवेशनका लागि अध्यक्ष निर्वाचित भएका हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रहमानले साइप्रसका उम्मेदवार राजदूत एन्ड्रियास एस. काकुरिसलाई पराजित गरेका हुन्। मतदानमा रहमानले ९९ मत प्राप्त गरे भने काकुरिसले ९१ मत पाएका थिए। संयुक्त राष्ट्रसङ्घ महासभाको ८१औँ अधिवेशन सन् २०२६ सेप्टेम्बरदेखि सुरु हुनेछ।
बङ्गलादेशका लागि यो कूटनीतिक रूपमा महत्वपूर्ण उपलब्धि मानिएको छ। करिब चार दशकपछि बङ्गलादेश पुनः राष्ट्रसङ्घ महासभाको अध्यक्ष पदमा पुगेको हो। यसअघि बङ्गलादेशले सन् १९८६–८७ मा महासभाको अध्यक्षता गरेको थियो।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले रहमानलाई महासभाको ८१औँ अधिवेशनको अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छन्। उनले वर्तमान विश्व परिस्थितिमा संयुक्त राष्ट्रसङ्घको भूमिकालाई अझ प्रभावकारी बनाउने आवश्यकता रहेको सन्दर्भमा नयाँ अध्यक्षको नेतृत्व महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्।
रुसले पनि रहमानको निर्वाचनलाई स्वागत गरेको छ। रुसी पक्षले उनलाई अनुभवी, सन्तुलित र व्यावहारिक राजनीतिज्ञ तथा कूटनीतिज्ञका रूपमा चित्रण गर्दै बहुपक्षीय संस्थाप्रति विश्वास घट्दै गएको समयमा उनको अनुभव र निष्पक्ष भूमिकाको प्रतिबद्धता उपयोगी हुने जनाएको छ।
मस्कोले रहमानले ग्लोबल साउथका हितलाई प्राथमिकतामा राख्ने, दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासलाई अघि बढाउने, महासभाको प्रभावकारिता बढाउने र अन्तर्राष्ट्रिय मामिलामा संयुक्त राष्ट्रसङ्घको केन्द्रीय समन्वयकारी भूमिकालाई बलियो बनाउने उद्देश्य व्यक्त गरेकोमा स्वागत गरेको छ।
रुसी पक्षले रहमानसँग रचनात्मक र परिणाममुखी सहकार्यको अपेक्षा गरेको जनाएको छ। उनी जुन ७ देखि ९ सम्म रूसी महासङ्घको औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको जनाइएको छ।
रहमानको निर्वाचनलाई विश्व कूटनीतिमा दक्षिण एसियाली उपस्थितिको अर्को महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। अन्तर्राष्ट्रिय प्रणालीमा संवाद, सहकार्य र सहमतिका माध्यमबाट साझा चुनौती समाधान गर्ने अपेक्षाका बीच उनी राष्ट्रसङ्घ महासभाको नेतृत्वमा पुग्न लागेका हुन्।





