रुसको चिन्ता : अमेरिका–इरानको आक्रमणले फारसी खाडीमा ठूलो द्वन्द्व निम्त्याउने खतरा

मस्को – रुसले फारसी खाडी क्षेत्रमा अमेरिका र इरानबीच भएको पछिल्लो सैन्य आक्रमणको आदानप्रदानमा गहिरो चिन्ता व्यक्त गरेको छ। रुसले यस्ता घटनाले ठूलो द्वन्द्व पुनः सुरु हुने जोखिम निम्त्याउने चेतावनी दिएको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाका अनुसार फारसी खाडी क्षेत्रमा तैनाथ अमेरिकी सेनाले जुन २ मा किस्म टापुमा रहेको इरानी रडार स्टेसन र युएभी कमान्ड तथा नियन्त्रण सुविधामा आक्रमण गरेको छ। अमेरिकी नाकाबन्दी तोड्दै खार्ग टापुतर्फ जान खोजेको इरानी तेल बोकेको ट्याङ्कर पनि आक्रमणको लक्ष्य बनेको उनले बताइन्।
यी आक्रामक कार्यको जवाफमा जुन ३ को राति इरानी सेनाले बहराइनमा रहेको अमेरिकी पाँचौं फ्लीटको कमान्ड सेन्टर तथा कुवेतस्थित अलि अल सलेम र अरिफजान सैन्य आधारहरूमा प्रतिशोधात्मक मिसाइल आक्रमण गरेको जखारोभाले जानकारी दिइन्।
त्यस्तै, कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु टर्मिनल पनि आक्रमणको लक्ष्य बनेको छ। कुवेतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार एक जनाको मृत्यु र धेरै घाइते भएका छन्। महत्वपूर्ण पूर्वाधार तथा विदेशी कूटनीतिक नियोगहरू रहेको परिसरमा समेत क्षति पुगेको छ।
जखारोभाले भनिन्, ‘हामी यो घटनाक्रमले गहिरो चिन्तित छौँ। यसले फारसी खाडी क्षेत्रमा अमेरिका र इजरायलको सैन्य आक्रमणले उत्पन्न ठूलो सैन्य तथा राजनीतिक द्वन्द्वको पुनरावृत्ति हुने खतरा निम्त्याएको छ।’
उनले सबै सरोकारवाला पक्षलाई तनप्ति थप वृद्धि हुने र कूटनीतिक प्रयासहरूमा बाधा पुग्ने कार्यबाट टाढा रहन आग्रह गरे। उनले भनिन्, ‘क्षेत्रलाई विनाशकारी द्वन्द्वतर्फ धकेलिन नदिनु अत्यावश्यक छ। हामी विशुद्ध नागरिक पूर्वाधारमा भएको आक्रमणलाई पूर्ण रूपमा अस्वीकार्य ठान्छौँ।’
रुसले फारसी खाडीका अरब राष्ट्रहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षामा निरन्तर र दृढतापूर्वक समर्थन गर्ने जखारोभाले पुष्टि गरिन्। अमेरिका र इरानबीच जारी वार्ताबाट मध्यपूर्वमा दिगो स्थायित्व आउने उनले विश्वास व्यक्त गरिन्।
‘हामी यो धारणा राख्छौँ कि क्षेत्रका विद्यमान मतभेदहरू राजनीतिक र कूटनीतिक माध्यमबाट, अन्तर्राष्ट्रिय कानुनका आधारभूत मानदण्डअनुसार सबै राष्ट्रहरूको वैध हितलाई ध्यानमा राखी सम्झौतापूर्ण समाधानको सूत्रीकरणमार्फत् समाधान गर्न सकिन्छ र गर्नुपर्छ,’ उनले भनिन्। ‘हामी यसका लागि सक्रियरूपमा योगदान दिन तयार छौँ।’





