इरान–अमेरिका सम्झौताको चार चरण : सुरुमा युद्धविराम, अन्त्यमा आणविक वार्ता

तेहरान – इरान र अमेरिकाबीच हुनसक्ने सम्भावित सम्झौतालाई चार चरणमा कार्यान्वयन गरिने एक अरबी टेलिभिजनले जनाएको छ।
Al Hadath च्यानलले स्रोतलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार उक्त सम्झौताका चार चरण यसप्रकार रहनेछन्:
पहिलो चरण : यसमा ‘विद्यमान युद्धविरामलाई संस्थागत गर्ने’, ‘क्षेत्रमा कुनै पनि प्रकारको उत्तेजना वा नयाँ मोर्चा नखोल्ने’ तथा प्रत्यक्ष सैन्य कारबाही नगर्ने विषय समावेश हुनेछ।
दोस्रो चरण : यो चरण समुद्री सुरक्षा र होर्मुज जलसन्धिमा केन्द्रित रहनेछ। यसअन्तर्गत समुद्री नाकाबन्दी हटाउने, समुद्री मार्ग तथा ऊर्जा पाइपलाइनको सुरक्षा सुनिश्चित गर्ने उपायहरू समावेश हुनेछन्।
तेस्रो चरण : यस चरणमा प्रतिबन्धहरूमा सीमित सहजता ल्याउने र इरानको विदेशस्थित सम्पत्ति आंशिक रूपमा फ्रिज हटाउने विषय रहनेछ।
अन्तिम चरण : सम्झौताको यस चरणमा इरानको आणविक विषयमा छलफल गरिनेछ। जसमा युरेनियम प्रशोधनको स्तर र अन्तर्राष्ट्रिय नियन्त्रणको संयन्त्रबारे वार्ता हुने स्रोतले जनाएको छ।
हालसम्म यी दुवै पक्षले यो खबरमा औपचारिक प्रतिक्रिया दिएका छैनन्। तर कूटनीतिक वृत्तका अनुसार क्षेत्रीय तनाव घटाउन दुवै पक्षबीच अप्रत्यक्ष वार्ता भइरहेको बुझिएको छ।





