मध्यपूर्व तनावप्रति चीनको गहिरो चिन्ता
बेइजिङ । चीनले मध्यपूर्वमा पुनः बढेको तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार नियमित पत्रकार सम्मेलनमा अमेरिका र इरानबीच हालै भएका पारस्परिक आक्रमणबारे प्रतिक्रिया दिँदै सम्बन्धित पक्षहरूले शान्ति र संवादको अवसरलाई जोगाउनुपर्ने बताएकी हुन्।
माओले नयाँ चरणको युद्ध र टकराव कसैको हितमा नरहेको उल्लेख गरिन्। उनले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थिरता पुनःस्थापना गर्न आवश्यक वातावरण बनाउन सम्बन्धित पक्षहरू जिम्मेवार ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिइन्।
उनका अनुसार सम्बन्धित पक्षहरूले शान्तिको अवसरलाई महत्व दिनु, युद्धविरामप्रतिको प्रतिबद्धता पालना गर्नु, वार्ताको गति कायम राख्नु र राजनीतिक तथा कूटनीतिक माध्यमबाट विवाद समाधान गर्ने बाटोमा दृढ रहनु आवश्यक छ।
चिनियाँ प्रवक्ताले व्यापक र दीर्घकालीन युद्धविराम छिटोभन्दा छिटो हासिल गर्नु वर्तमान अवस्थाको मुख्य आवश्यकता भएको बताइन्। यसले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति, सुरक्षा र सामान्य अवस्था फर्काउन आवश्यक आधार तयार गर्ने उनको भनाइ छ।
चीनले विगतदेखि नै मध्यपूर्वका विवादहरू संवाद, परामर्श र कूटनीतिक प्रक्रियामार्फत समाधान हुनुपर्ने धारणा राख्दै आएको छ। पछिल्लो तनावका कारण क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति, मानवीय अवस्था र अन्तर्राष्ट्रिय स्थिरतामा नकारात्मक असर पर्न सक्ने भन्दै चीनले सबै पक्षलाई संयम, जिम्मेवारी र वार्ताको मार्ग अपनाउन आग्रह गरेको छ।





