चीनमा एक करोड २९ लाख विद्यार्थी गाओकाओ परीक्षामा सहभागी हुँदै
बेइजिङ । चीनमा यस वर्ष एक करोड २९ लाख विद्यार्थी राष्ट्रिय कलेज प्रवेश परीक्षा, गाओकाओ, मा सहभागी हुने भएका छन्। चिनियाँ शिक्षा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार परीक्षा जुन ७ देखि सुरु हुनेछ।
यस वर्षको परीक्षार्थी सङ्ख्या गत वर्षको तुलनामा केही कम हो। गत वर्ष गाओकाओ परीक्षामा एक करोड ३३ लाख ५० हजार विद्यार्थी सहभागी भएका थिए।
मन्त्रालयले परीक्षा सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न स्थानीय निकायलाई आवश्यक निर्देशन दिइने जनाएको छ। परीक्षा अवधिभर अनलाइन वातावरण सुरक्षित राख्ने तथा परीक्षा केन्द्र वरपर सुरक्षित र व्यवस्थित वातावरण कायम गर्ने व्यवस्था मिलाइनेछ।
परीक्षामा अनियमितता रोक्न विशेष अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। नक्कली परीक्षार्थी पठाउने, चिटिङ उपकरण बिक्री गर्ने तथा परीक्षा तयारी र तालिम संस्थाबाट हुने गैरकानुनी गतिविधिमाथि कडाइ गरिनेछ।
त्यस्तै, उच्च प्रविधिको प्रयोग गरी हुन सक्ने चिटिङ रोक्न र नियन्त्रण गर्न स्थानीय निकायलाई मार्गदर्शन गरिने मन्त्रालयले जनाएको छ। परीक्षा निगरानीका लागि स्मार्ट निगरानी तथा निरीक्षण प्रणालीको प्रयोगलाई पनि सक्रिय रूपमा प्रवर्द्धन गरिनेछ।
गाओकाओ चीनको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय परीक्षामध्ये एक हो। यस परीक्षाको नतिजाले विद्यार्थीको उच्च शिक्षामा प्रवेश र भविष्यको शैक्षिक दिशा निर्धारण गर्ने भएकाले यसको निष्पक्षता र सुरक्षा सुनिश्चित गर्न चिनियाँ अधिकारीहरूले विशेष प्राथमिकता दिँदै आएका छन्।





