जापानको पुनःसैनिकीकरणबारे चीनको आपत्ति

बेइजिङ । चीनले जापानले शब्दको खेलमार्फत पुनःसैनिकीकरणका गतिविधिलाई ढाकछोप गर्न नसक्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार नियमित पत्रकार सम्मेलनमा जापानको रक्षा मन्त्रालयका प्रवक्ताले हालै दिएका टिप्पणीप्रति प्रतिक्रिया दिँदै यस्तो धारणा राखेकी हुन्।
माओले जापानले विदेशमा सैन्य परिचालनलाई “सामूहिक आत्मरक्षाको अधिकार प्रयोग” भनेर प्रस्तुत गर्ने गरेको आरोप लगाइन्। उनका अनुसार जापानले आक्रामक क्षमताको विस्तारलाई “प्रत्याक्रमण क्षमता हासिल गर्ने” नाम दिएको छ भने घातक हतियार निर्यातलाई “उपकरण प्रविधि सहकार्य” भनेर ढाकछोप गर्न खोजेको छ।
चिनियाँ प्रवक्ताले यस्ता शब्दावलीले जापानको वास्तविक सैन्य दिशा परिवर्तन गर्न नसक्ने बताइन्। उनले जापानको सैन्य नीतिमा आएको परिवर्तनले क्षेत्रीय शान्ति, स्थिरता र छिमेकी मुलुकहरूको सुरक्षा चासो बढाएको उल्लेख गरिन्।
चीनले जापानलाई आफ्नो ऐतिहासिक जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन, शान्तिपूर्ण विकासको बाटोमा अडिग रहन र सैन्य सुरक्षा क्षेत्रमा सावधानीपूर्वक कदम चाल्न आग्रह गरेको छ।
माओका अनुसार जापानले सैन्य विस्तारलाई नयाँ नाम दिएर प्रस्तुत गरे पनि त्यसले क्षेत्रीय समुदायको चिन्ता हटाउन सक्दैन। उनले जापानले शब्दको आडमा आफ्नो सैन्य गतिविधिलाई सामान्य देखाउने प्रयास गर्नुभन्दा छिमेकी देश र अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्ने व्यवहार देखाउनुपर्ने बताइन्।
चीनको यो प्रतिक्रिया जापानको रक्षा नीति, बाह्य सैन्य भूमिका र सुरक्षा अवधारणाबारे पूर्वी एसियामा बहस बढिरहेका बेला आएको हो।





