२१ जेष्ठ २०८३, बिहीबार

परराष्ट्रमन्त्री खनाल भोलि भारत जाँदै, रवि लामिछानेको भ्रमणकै बीच उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भोलि (बुधबार) भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार नयाँदिल्लीमा खनाल र जयशंकरबीच औपचारिक भेटवार्ता हुनेछ। भेटवार्तामा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा पारस्परिक हितका अन्य विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम छ।

यो भ्रमण यस्तो बेला हुँदैछ, जतिबेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमै छन्। लामिछाने सोमबारदेखि भारतमा रहेका छन् र उनले भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायत शीर्ष नेताहरूसँग भेटवार्ता गरिसकेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उनको उच्चस्तरीय भेटवार्ता हुने चर्चा भए पनि दुवै पक्षले यसको आधिकारिक पुष्टि गरेका छैनन्।

प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा ‘नेपालले पनि भारतको भूमि मिचेको’ भनी दिएको विवादास्पद अभिव्यक्तिपछि उत्पन्न कूटनीतिक तरंगका बीच परराष्ट्रमन्त्री खनालको यो भ्रमण हुन लागेको हो। उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको र विपक्षी दलहरूले संसद् अवरुद्ध गरिरहेको अवस्थामा परराष्ट्रमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई सहज बनाउने अपेक्षा गरिएको छ।

कूटनीतिक वृत्तका अनुसार परराष्ट्रमन्त्री खनालको भ्रमणका क्रममा सीमा विवाद, द्विपक्षीय व्यापार विस्तार, जलविद्युत् आयोजनामा भारतीय लगानी, क्रस–बोर्डर कनेक्टिभिटी, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा क्षेत्रीय सहकार्यका विषयमा पनि छलफल हुन सक्ने बताइएको छ। यसअघि सहायक विदेशमन्त्रीको हैसियतमा भारत भ्रमण गरिसकेका खनालको यो परराष्ट्रमन्त्रीका रूपमा पहिलो भारत भ्रमण हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button