२१ जेष्ठ २०८३, बिहीबार

खुम्बु हिमपातमा सात दिन हराएका दावा शेर्पा जीवितै फेला, हिउँमा घस्रिँदै जोगिएको जीवन

काठमाडौं । सगरमाथाको खतरनाक खुम्बु आइसफल क्षेत्रमा सात दिनसम्म हराएका ओखलढुंगाका ५७ वर्षीय दावा शेर्पा जीवितै फेला परेका छन्। हिउँको अन्धकार, अक्सिजनको कमी र कठोर चिसोबीच उनले गरेको संघर्षलाई उद्धारकर्ताले ‘अविश्वसनीय जीवित यात्रा’ भनेर वर्णन गरेका छन्।

चैत १३ गते काठमाडौंको रामहिटीबाट ‘हिमालयन ट्राभल्स एडभेन्चर’ कम्पनीमार्फत उनी सगरमाथा क्षेत्रतर्फ गएका थिए। कुकको रूपमा काम गर्ने दावा क्याम्प १ र क्याम्प २ क्षेत्रमा देखिए पनि क्याम्प ४ तर्फ जाने क्रममा अचानक सम्पर्कविहीन भए।

दावाकी श्रीमती डमु शेर्पाका अनुसार कम्पनीले सुरुका दिनमा स्पष्ट जानकारी दिन सकेन। ‘कहिले क्याम्प ३, कहिले क्याम्प ४ वरिपरि देखिएको भनियो, तर वास्तविक अवस्था परिवारसम्म स्पष्ट रूपमा पुगेन,’ उनले भनिन्। तीन दिनभन्दा बढी समयसम्म बेपत्ताको औपचारिक जानकारी नै नदिएको परिवारको आरोप छ।

यसैबीच, हिमालको कठोर भू–भागमा दावाले आफ्नो जीवनका कठिन घडी सामना गरे। घस्रिँदै उनी क्याम्प ३ सम्म पुगेका थिए, जहाँ केही खानेकुरा भेट्टाएर खाए। त्यसपछि तल झर्ने क्रममा एक खोँचभित्र रातभर आश्रय लिएर बसे।

भोलिपल्ट बिहान खुम्बु आइसफल क्षेत्रमा हिमाल सफा गर्ने कार्यमा खटिएको ६ जनाको टोलीले उनलाई फेला पारेको हो। सगरमाथा आधार शिविर नजिकैको क्याम्पोन पोइन्ट क्षेत्रमा उनी हिउँमा घस्रिरहेको अवस्थामा देखिएका थिए। टोलीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको थियो।

उद्धारपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकका अनुसार उनको अवस्था अहिले स्थिर छ, तर हात र खुट्टामा गम्भीर फ्रस्टबाइट देखिएको छ। संवेदनशीलता फर्काउन तातो पानीसहितको विशेष उपचार जारी छ।

यसैबीच, सगरमाथा आरोहणका क्रममा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने तयारी गरेको छ। घटनाले हिमाली क्षेत्रमा काम गर्ने श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे फेरि प्रश्न उठाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button