पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम भेटिए

पोखरा । पोखरा महानगरपालिका–२१ स्थित फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला परेका छन्। महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहोरबाट कवाडी वस्तु संकलन गर्ने क्रममा रिमा शेर्पाले ती बम भेट्टाएकी हुन्।
प्रहरीका अनुसार पोखरा–१७ स्थित रातोपैह्रा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आसपासका क्षेत्रबाट फोहोर संकलन गरी ल्याएको महानगरको ग १ ख ५४३७ नम्बरको गाडीले खसालेको फोहोरमा ती बम भेटिएका हुन्। शेर्पाले बोराभित्र रहेका शंकास्पद वस्तु चलाउन खोज्दा त्यहाँ कार्यरत एस्काभेटर चालकले देखेर तत्काल सुरक्षित राख्न लगाएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल पुगी उक्त क्षेत्रलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उक्त बम नेपाली सेनाको निष्क्रिय पारेको र फोहोरको थुप्रोमा विष्फोटक पदार्थ कसरी आइपुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।





